१५ असार २०८३, सोमबार

बिजुली बस किन्दै सरकार, बम्जनको आश्रमबाट हराएकाको खोजी शुरु

बिजुली बस किन्दै सरकार, बम्जनको आश्रमबाट हराएकाको खोजी शुरु

काठमाडौं । सरकारले तीन सय विद्युतीय बस किन्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले तीन सय बस किन्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहिबार जानकारी दिए । 

विद्युतीय बस चलाउन र सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन सरकारले शक्तिशाली यातायात प्रधिकरणको स्थापनाको गृहकार्य सुरु गरेको छ । 
यसैबीच सरकारले विभिन्न देशका राजदूत फिर्ता बोलाउने र केही देशमा नयाँ नियुक्तिको निर्णयपनि गरेको छ । 

बम्जनको आश्रमबाट हराएकाको खोजी सुरु
लिटिल बुद्ध भनेर प्रचार गरिएका रामबहादुर बम्जनको तपस्यास्थलबाट हराएकाहरुको खोजीकार्य प्रहरीले तीब्र पारेको छ । उनीहरु वेपत्ता भएको भन्दै परिवारका सदस्यले उजुरी दिएपछि प्रहरीको सक्रियता बढेको हो । 
हराएकाहरुबारे परिवारसँग विस्तृत रुपमा बुझ्ने र बम्जनको तपस्यास्थलबारे तथ्यांक लिने काम भइरहेको जनाइएको छ । बम्जनको आश्रमबाट आफन्त हराएको भन्दै ३ जनाले उजुरी दिएका छन् । बम्जनले आनी बन्न पुगेकालाई बलात्कार र अमानवीय दुर्व्यवहार गरेको आरोप समेत लागेको छ । 

नेकपा बैठक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या सम्बन्धमा अन्तर्राष्ट्रियस्तरको छानविन गर्न सरकार तयार रहेको बताएका छन् । 

स्थायी समिति बैठकमा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको बिहीवार जवाफ दिने क्रममा ओलीले निर्मला हत्या प्रकरणलाई लिएर सरकारको चौतर्फी आलोचना भएको भन्दै आवश्यक परे अन्तर्राष्टियस्तरको छानविन गर्न सकिने बताएका हुन् ।

 यसअघि निर्मला हत्या प्रकरणमा दोषी पक्रन ढिला भएको भन्दै बुधवार संसदको बैठकमा नेकपा अध्यक्ष प्रचण्डले पनि बोलेका थिए । 

जवाफको अधिकाशं समय सरकारको काम कारवाहीको बचाउ गरेका ओलीले सरकारको काम ‘एक्सिलेन्ट’ भएको दावी गरेका थिए । 

ओलीले नेवाल वायु सेवा निगमको वाइडवडी खरिद सम्बन्धमा उठेका प्रश्न सम्बन्धमा समिति बनाएर छानविन गर्न सकिने बताएका थिए ।

 विमान खरिदमा घोटाला भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो संसदमा बोलेका थिए । ओलीले वाइडवडी खरिदको विषयमा कतै अनियमितता भएको भए छानविन गर्न सकिने बताएका एक स्थायी समिति सदस्यले लोकान्तरलाई जानकारी दिए । 

ओलीको जवाफ चित्त नबुझेपछि वामदेव गौतम, भीम रावल, घनश्याम भुसाल लगायतले प्रतिप्रश्न गरेका थिए । यसअघि बोल्ने क्रममा पनि वरिष्ठ नेता वामदेव गौतम तथा प्रभावशाली नेताद्वय भीम रावाल र घनश्याम भुसालले बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनको आलोचना गरेका थिए । गौतमले फरक मत प्रस्तुत गरेका थिए भने रावलले एसिया प्यासेफिक समिटप्रति आपत्ति जनाएका थिए । 

मंसिर २९ गते शुरु भएको स्थायी समिति बैठकमा ४४ जना सदस्यहरुले धारणा राखेका थिए । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने बुधवारको बैठकमा जवाफ दिएका थिए । बैठक आज बिहान ८ बजे पुनः बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


सिजीलाई मोबाइल सेवा सञ्चालन गर्न अनुमति दिन आदेश
सर्वोच्च अदालतले सिजी कम्युनिकेसन प्रालिलाई मोबाइल सेवा सञ्चालनका लागि अनुमति दिन अन्तरिम आदेश जारी गरेको छ । 

न्यायाधीश दीपकराज जोशीको एकल इजलासलेसो कम्पनीलार्ई मोबाइल सेवा सञ्चालनका लागि अनुमति प्रदान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका नाममा अन्तरिम आदेश जारी गरेको हो । 

“आधारभूत टेलिफोन सेवा सञ्चालन गर्ने अनुमतिप्राप्त गरेको देखिँदा उक्त अनुमतिपत्र कार्यान्वयन गर्न आवश्यकपर्ने कुनै पनि कार्य गर्न नरोक्नु, रोक्न नलगाउनु तथा निजलाई कुनै बाधा र अवरोध नगर्नु, नगराउनु”, आदेशमा भनिएको छ । 

त्यसैगरी आदेशमा अनुमतिपत्र कार्यान्वयन गर्न आवश्यकपर्ने खरीद, जडान तथा सो सम्बन्धमा आवश्यकपर्ने थप लगानीका लागि निवेदकलाई आवश्यकताअनुसार अनुमति दिनु दिलाउनुसमेत भनिएको छ । 


काङ्ग्रेसले मेलमिलाप दिवस मनाउने

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली काङ्ग्रेसले देशभर आमसभा, गोष्ठी, ¥याली, कोणसभालगायत कार्यक्रम गर्ने भएको छ । 

पार्टी सभापति शेरबहादुर देउवाले हालै सम्पन्न महासमिति बैठकमा मेलमिलाप दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरी सङ्गठनलाई चुस्त, गतिशील र प्रभावकारी बनाउन आह्वान गरेका थिए । काङ्ग्रेसले महासमिति बैठकबाट पारित विधानअनुसार पार्टी सङ्गठनलाई विस्तार र सुदृढीकरण गर्न यसै दिवसदेखि विभिन्न अभियानको थालनी गर्ने समेत तयारी गरेको छ । 

विसं २०३३ साल पुस १६ गते काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका साथ लौहपुरुष गणेशमान सिंह र अन्य शीर्षनेताहरुसहित आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनलाई काङ्ग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । दिवसलाई प्रभावकारी बनाउन काङ्ग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्यलाई प्रतिनिधिका रुपमा खटाएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

मेलम्चीको काम अगाडि बढाउन मन्त्रालयलाई बाटो खुला
बहुप्रतिक्षित राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अगाडि बढाउन खानेपानी मन्त्रालयलाई बाटो खुला भएको छ । 

उच्च अदालत पाटनले सो आयोजनाको निर्माणकर्ता इटालीको कम्पनी सिएमसीले ‘आफ्नो बैंक ग्यारेन्टी रकम जफत गर्ने खानेपानी मन्त्रालयको निर्णय रोक लगाई पाउँ भनी’ दायर रिटमा अन्तरिम आदेश जारी नहुने आदेश दिएपछि मन्त्रालयलाई बाटो खुला भएको हो । 

सो कम्पनीले यही पुस ५ गते उच्च अदालत पाटनमा मन्त्रालयको सो निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरी पाउँ भनी रिट दायर गरेको थियो । उच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र न्यायाधीश कृष्णबहादुर थापाको इजलाशले सो अन्तरिम आदेश जारी नहुने आदेश दिएको खानेपानी मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

खानेपानी मन्त्रालयलाई सिएमसी कम्पनीले आयोजनाको काम बन्द गरी एकतर्फी सम्झौता रद्द गरेको पत्र पुस २ गते मन्त्रालयलाई दिएको थियो । यसपछि मन्त्रालयले तत्काल मेलम्ची खानेपानी विकास समितिमार्फत सो कम्पनीको रु दुई अर्ब ५६ करोड बैंक ग्यारेन्टी रोक्का राखेको थियो । नेपाल इन्भेष्टमेन्ट बैंक दरबारमार्गमा र स्ट्यान्डर्ड चार्टड बैंक नयाँ बानेश्वर शाखामा ती रकम रहेका थिए । उक्त बैंक ग्यारेन्टीको अन्तिम म्याद पुस १६ गतेसम्म रहेको बताइन्छ । 

सरकारले विसं २०६५ मा सो आयोजना निर्माण गर्न ‘सिआरसिसिसी’ नामक चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । कम्पनीले २०६९ असोज ९ गते सम्झौता भङ्ग गरेपछि सरकारले २०७० असार ३१ गते इटालीको सिएमसीसँग निर्माणको सम्झौता गरेको थियो । 

मेलम्ची खानेपानी आयोजनाको ९३ प्रतिशत काम सम्पन्न भएको छ । उहाँले पुस २ गते एकतर्फीरुपमा सम्झौता रद्द गरेको इटालीको सिएमसीले पुस ६ गते आफ्नो निर्णयमा पुनः विचार गर्न मन्त्रालयलाई पत्र पठाएको खानेपानी मन्त्री विना मगरले जानकारी दिइन् । उनले हालसम्म आयोजनाको कूल खर्च रु २६ अर्ब, ३५ करोड भएको जानकारी दिइन् । 


सन्दीपको उत्कृष्ट बलिङ

अष्टे«लियामा त्यहाँको बिग बास लिग खेलिरहेका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले लगातार तीन खेलमा विकेट लिन सफल भएका छन् । 

मेलबर्न स्टार्स क्लबबाट त्यहाँको लिग खेलिरहेका सन्दीपले बिहिबार भएको तेस्रो खेलमा सिड्नी सिक्सविरुद्ध दुई विकेट लिन सफल भएका छन् । चार ओभर बलिङ गर्दै सन्दीपले मात्र १८ रन खर्चेर दुई विकेट लिन सफल भएका हुन् । उनले सिड्नी सिक्सक मोइसेस हेनरिक्स र टम कुरनलाई पेभेलियन फर्काए । 

खेलमा दुई विकेट लिएपछि प्रतियोगितामा उनको विकेट सङ्ख्या सात पुगेको छ । उत्कृष्ट फर्ममा रहेका सन्दीप प्रतियोगिताको अहिलेसम्म सबैभन्दा बढी विकेट लिने पहिलो स्थानमा छन् । सन्दीपले पहिलो खेलमा सिड्नी थण्डरविरुद्ध दुई तथा दोस्रो खेलमा होबार्ट हुरिकेन विरुद्ध तीन विकेट लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्