
दिल थापा
मगर्नी श्रीमतीको कोसेली रातो भालेलाई
साँझबिहान वेदको मन्त्र जपीरहने कालो च्वाँचेलाई
रिठे कामीको आणविक आराममा
पाइन बस्ने गरी अजार्पेको खुकुरीले
रुखको फेदमुनिको पूजा थानमा वर्षेनी परीक्षण गरिन्छ ।
शक्तिपिठहरुलाई खुसी पार्न ।
अद्श्य मानिसको भाकल पूरा गर्न
ए! पुजारी बाजे
आजभोलि तपाईलाई खुबै सम्झन्छु
मलाई किचकिच गरिरहने प्रेमिकालाई भन्दा बढी
खन्करी डांडालाई पनि सम्झन्छु
त्यो डाँडाका सबै रुखहरुलाई पनि सम्झन्छु
रुखका फेदहरुमा भएका
पुजाका थानहरुलाई पनि सम्झन्छु
दर्शन ढुङ्गाका देउता देउतीहरुलाई पनि सम्झन्छु
पातीको पातलाई मसिनो पारी
तारी खेतको आँपझुप्टे चामलको अक्षतामा
कालो च्वाचेको
रातो भालेको
रातो रगतमा मिसाई
मेरो अभागी निधारमा तपाईले टिका लगाई दिनुभएको
मेरो कानेगुजी भएको कानले आर्शिवाद ग्रहण गरेको
तपाईले तैले गलगाँड भाकी श्रीमती पाएस भनेको झनै सम्झन्छु ।
आजकाल मलाई मधुरो मधुरो सम्झना आउछ ।
रविन्द्र मिश्रको भ्यु टावर कवितामाथिबाट बसेर सोच्दा ।
देशको राजधानीले नदेखेको
सधै उपेक्षा गरेको ।
अनि राजधानीको सत्तासंघर्ष
चलिरहने ठूला-ठूला रुखहरुमा
पूजाका थानहरु बनाउन चेतना नभएका पुजारीहरु पनि देखे।
राजधानीका ठूला-ठूला रुखका थानहरुमा
भष्ट्रचारको रगतले शक्तिफोबियाहरु होली खेलेको बेला ।
सायद हाम्रा मगर पूजारी बाजेहरु
बुढो चिलाउनेको फेदमा थान बनाउदै होलान् ।
जिजुबज्यैको थान पल्लोतिर
जिजुबाजेको थान वल्लोतिर
अनि ठूलोबीजको थान पुस्तौंदेखि पिरोली रहने
पिराहा बडाबाजेका थान भनेर ।
राजधानीले नश्लवादको गिदी प्रयोग गरेर विभाजन गरेको प्रदेशजस्तै ।
मेरी आमाले गएको भर्दौदेखि
बडो दूःखका साथ जोगाड गरेकी होली रातो भालेको
अनि लाम् डाँडा वनतिर गोठालो जादा जोगाड गरे होलान् l
मेरा बाबाले साल धुपको ।
आमाले भन्थीन l
कार्तिकको एक रात बिहान बास्नुपर्ने भाले
रातीको एक बजे बास्यो रे।
त्यसको भोलि पल्ट मैले राहादानी बनाएको
राजधानीमा नराम्रो अनिष्ट भए रे।
अनिष्ट भएको भोलि पल्ट
पूजारी बाजेले
त्यो भालेको घाँटी निमोठी
घुमाउने घरको धूरी कटाउनु भो रे।
पूजारी बाजे !
तपाईले बालेको
सालधुपको वास्ना
पशुपतिनाथलाई मिठो लाग्छ कि लाग्दैन होला ?
अनि राजधानीले
पशुपतिनाथमा कालो च्वाँचेको भाकल गर्छ की गर्दैन होला ?
हो ! पूजारी बाजे
म आजभोलि यस्तै यस्तै प्रश्नहरुको उत्तरको खोजी छु ।