
काठमाडौं– नेकपाका सांसद झपट बहादुर रावलले पूर्व राजा ज्ञानेन्द्र शाहले संविधान विपरित राजसंस्था पुनस्र्थापनाको लागि अभियान चलाएको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रवार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद रावलले संवैधानिक व्यवस्था विपरित पूर्व राजाले राजसंस्था पुनस्र्थापनाका लागि अभियान चलाएको भन्दै त्यसलाई रोक्न संसदमार्फत सरकारलाई रुलिङ गर्न आग्रह गरे ।
‘संवैधानिक व्यवस्थालाई पालन गर्नु सबैको दायित्व हो, संविधानको व्यवस्था विपरित पूर्व राजले राजसंस्था पुनस्र्थापनाका लागि अभियान नै चलाएको जस्तो देखिएको छ’ रावलले संसदमा भने,‘संविधानको व्यवस्था अनुसार राजाले बोल्ने लेख्ने अधिकार छ तर संविधानको व्यवस्था विपरित राजसंस्था पुनस्र्थापनाको वकालत गर्ने धार्मिक आवरणमा जनमत विभाजन गराउने अधिकार पूर्व राजालाई छैन ।’
संविधान जारी भएको छोटो अवधिमा संवैधानिक व्यवस्थालाई चुनौती दिने काम संविधान विपरित भएको भन्दै त्यसलाई रोक्न पर्ने उनको भनाइ थियो ।
‘संविधान विपरित पूर्व राजको कामलाई रोक्न संसदमार्फत सरकारलाई रुलिङ गर्न आग्रह गर्दछु’ रावलले भने ।