
नयाँदिल्ली– मुस्लिम महिलाको वैबाहिक सम्बन्ध प्रतिरक्षा विधेयक–२०१८ बिहीबार भारतको लोकसभाबाट पारित भएको छ ।
मुस्लिम महिलाको वैवाहिक सम्बन्ध प्रतिरक्षा विधेयक–२०१८ माथि छलफल गरेर पारित गर्ने प्रस्ताव कानून मन्त्री रवीशङ्कर प्रसादले प्रस्तुत गरेका थिए ।
आफ्नो श्रीमानले तीन पटकसम्म ‘तलाक’ शब्द मौखिक रूपमै उच्चारण गरेपछि वैधानिक रूपमै आफ्नो श्रीमान्ले छोड्ने बाध्यता रहेको कुरीतिलाई प्रतिबन्ध लगाउन यस्तो व्यवस्था गर्नु परेको मन्त्री प्रसादको भनाई छ ।
भारतीय जनता पार्टी (बीजेपी)ले गत मङ्गलबार सो प्रस्ताव पारित गर्नका लागि लोकसभाका सदस्यलाई डिसेम्बर २७ अर्थात् बिहीबारका दिन संसदमा अनिवार्य उपस्थितिका लागि लिखित पत्र नै जारी गरेको थियो ।
सोही पत्रअनुसार लोकसभामा बीजेपीका सबै सदस्य उपस्थित भएका थिए । यस विधेयकको पक्षमा २३८ र विपक्षमा ११ मत परेको थियो ।
मुस्लिम महिलाको वैवाहिक सम्बन्ध प्रतिरक्षा विधयेक–२०१८ माथि छलफल र मतदान डिसेम्बर २७ का दिनलाई भारतीय सञ्चार माध्यमहरुले मुसमान महिलाको ‘खास दिन’ भन्ने संज्ञा दिएका छन् ।