२४ जेठ २०८३, आइतबार

अर्थमन्त्री प्रकाशसँग ‘ज्वाला’ कसरी जोडियो ? पत्रिकासँग नाम मिल्दा जानुपर्‍यो थुनामा

पुस १४, २०७५
अर्थमन्त्री प्रकाशसँग ‘ज्वाला’ कसरी जोडियो ? पत्रिकासँग नाम मिल्दा जानुपर्‍यो थुनामा

सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता प्रकाश ज्वाला कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना (अर्थ) मन्त्री हुन् ।

उनी संविधान सभामा समेत सदस्य थिए । संविधानसभामा सदस्य हुँदा उनी संसदको आर्थिक समितिका सभापति समेत बनिसकेका छन् ।

मन्त्री प्रकाशले बुढाथोकी थर नै फेरेर किन ‘ज्वाला’ राखे ? लोकान्तरकर्मी शेरबहादुर थापासँग कुराकानीका क्रममा ज्वालाले जिज्ञासा मेटाएका छन् । थर परिवर्तनको रहश्य मन्त्री ज्वालाकै शब्दमा :

सबैले मलाई प्रकाश ज्वालाको नामले नै चिन्छन् । मेरो आधिकारिक नाम नै प्रकाश ज्वाला नै हो । अन्तिममा मैले नाम नै फाइनल गरें । 

एसएलसीको अन्तिम फाराम भरिसकेपछि मार्कसिटमा प्रकाश ज्वाला भनेर आयो । नागरिकतामा पनि प्रकाश ज्वाला नै बनाइयो । ज्वाला त उपनाम नै हो । तर अहिले आधिकारिक रुपमा नै प्रकाश ज्वाला भएको छ ।

२०४६ सालको जनआन्दोलनअघि म काप्रीचौरमा रहेको जनकल्याण माविमा अध्ययन गरेको हो । म ८ कक्षा पढ्ने बेलामा मेघबहादुर बोहोरा र डम्बर नेपाली वीरेन्द्रनगरबाट अनेरास्ववियूको सम्पर्क गर्न आउनुभएको थियो । त्यतिबेला अनेरास्ववियूको प्रारम्भिक कमिटीको तदर्थ समितिको अध्यक्ष भएँ । पछि उहाँहरू गइसकेपछि मलाई जिल्ला कमिटीमा राखियो । 

त्यतिबेला भक्त सर र अन्य सरहरूले हामीलाई माक्र्सवादी साहित्यका पुस्तक पढ्न दिनुहुन्थ्यो  । त्यहाँ लाइब्रेरी पनि थियो । लाइब्रेरीमा आमा, अगनी दीक्षाजस्ता केही क्रान्तिकारी उपन्यास थिए । विभिन्न क्रान्तिकारी व्यक्तिका जीवनी थिए । तर गोप्य रुपमा केसी सरसँग मागेर हामीले त्यतिबेलाको नेपाल कम्यूनिस्ट पार्टी मालेको दस्तावेजजस्तो वर्ग संघर्ष, मुक्तिमोर्चा, युवा आन्दोलनको दिशाजस्ता दस्तावेज लुकीलुकी पढ्ने गर्थ्यौं ।

यसको अर्थ त्यतिबेला हामी क्रान्तिकारी लाइनमा लाग्यौं । त्यसको फलस्वरुप नाममा क्रान्तिकारिता र प्रगतिशीलताको सम्बोधन कसरी गर्न सकिन्छ भन्ने भयो । मैले ज्वालालाई क्रान्तिकारिताको उपनामको रुपमा लिएर प्रकाश ज्वाला बनाएँ ।

साथीहरूले पनि उपनाम राखे – कसैले विद्रोही, लेकाली, आजादजस्ता । परिवर्तन र प्रगतिको प्रतिकको रुपमा हामीले नाम राख्यौं । मलाई सबैभन्दा क्रान्तिकारी नाम नै ज्वाला हो भन्ने लाग्यो । ज्वाला भनेपछि शासकहरू जल्छन् र प्रकाश भनेको परिवर्तनको प्रतिक हो । जनतामा उज्यालो छर्ने आधार हो । शान्ति, सिर्जना, समृद्धिको प्रतिकको सकारात्मक रुपमा प्रकाश र जनविरोधी ठेगान लगाउनका लागि ज्वाला भनेर परिभाषासहित नाम राखिएको हो ।

२०३६ सालको आन्दोलनमा सहभागी भएको थिएँ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमदेव गिरी, प्रधानाध्यापक भक्तबहादुर केसी लगायत शिक्षक पक्राउ पर्नुभयो । हामी त्योभन्दा अघि नै अखिलको आन्दोलनमा सहभागी भइसकेको थियौं । 

उतिबेला सुर्खेत जिल्लामा प्रकाश र ज्वाला नामक २ पत्रिका निस्कने गरेका थिए । म अनेरास्ववियूको नेता रहेको जिल्ला प्रहरी कार्यालयलाई थाहै थियो । यी दुवै पत्रिकामा क्रान्तिकारी समाचार बढी छापिने गरेका कारण १ दिन मलाई प्रहरीले पक्राउ गरेर लग्यो । तर मलाई प्रहरीले किन पक्राउ गरेको थियो जानकारी नै दिइएन ।

हिरासतमा राख्दा २ पत्रिका किन चलाएको, क्रान्तिकारीलाई किन सघाएको भन्ने प्रश्न सोध्दा म छाँगाबाट खसेजस्तै भएको थिएँ । प्रहरीले मलाई मेरो नाम प्रकाश ज्वाला भएकै कारण समातेको रहेछ ।

म अनेरास्ववियू जिल्ला कमिटी सुर्खेतको उपाध्यक्ष, अध्यक्ष, सुदूरपश्चिम क्षेत्रीय कमिटीको सदस्य हुँदै केन्द्रीय कमिटीको सदस्य भएर नेतृत्वमा पुगेको थिए । उतिबेला कर्णाली क्षेत्रलाई सुदूरपश्चिम नै भनिन्थ्यो अनेरास्ववियूमा ।

पार्टीमा पनि म सुर्खेत जिल्ला कमिटी सदस्यको हैसियतमा थिए । जीवन राई सचिव थिए । हरि पराजुली पनि सचिव हुनुभयो । बालाराम गिरी, म जिल्ला कमिटीमा थियौं । त्यही क्रममा २०४० सालमा अनेरास्ववियूको तेस्रो जिल्ला सम्मेलनको आयोजना गर्ने बेलामा म पक्राउ परेको थिएँ । ‘निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध आवाज बुलन्द गरौं, अनेरास्ववियू सुर्खेतको तेस्रो जिल्ला सम्मेलन भव्यताका साथ सम्पन्न गरौं’ भन्ने नारासहित म वीरेन्द्रनगरमा पर्चा बाँडिरहेको थिएँ ।

मलाई प्रहरीले सोही समयमा पक्राउ गर्यो । मलाई नेपालगञ्ज लगियो । धेरै यातना पनि दिइयो । मलाई त्यतिबेला संघसंस्था मुद्दा लगाइयो । मलाई जेल सजाय तोकियो । ९ हजार १ सय ६५ रुपैयाँ धरौटी तोकियो, त्यो तिर्न नसकेपछि म जेल बसे । त्यसपछि पटक–पटक पक्राउ पर्ने, रिहा हुने क्रम चलिरह्यो । म २०४६ सालमा सल्यानको जेलमा पनि बसेको थिएँ ।

मैले नाम सुविचारित रुपमा राखेजस्तो लाग्छ । नामले पनि उत्प्रेरणा दिँदो रहेछ । मैले मेरो क्षमताले भ्याएसम्म निरन्तर रुपमा जनताकै सेवामा लागिरहेको छु । आन्दोलनकै क्रममा मेरो राजनीतिक यात्रा शुरू भयो ।

२०३६ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, ०६२–६३ को जनआन्दोलनमा पनि म सहभागी भएँ । त्यो बेला मैले गाेंगबु आन्दोलनको नेतृत्व गरेर सबैभन्दा बढी जनमास उतार्न सफल भएको थिएँ । लडाकूको मोर्चाको रुपमा त्यो मोर्चालाई स्थापित गराएँ । यसरी म संघर्षको बिचबाट आएँ, संघर्षकै बलमा देशमा गणतन्त्र स्थापना भएको छ ।

विभिन्न कालखण्डमा विभिन्न परिवर्तन नेपाली राजनीतिमा ल्याउन सफल भयौं । देशमा संघीयता ल्यायौं । समावेशी लोकतन्त्र, गणतन्त्र, लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यौ । संघीयता स्थापित गर्ने क्रममा हामीले संविधान निर्माण गर्यौं ।

त्यतिबेला पनि मेरै नेतृत्वमा संविधान निर्माण गर्नको लागि संविधान सभाभित्रै पनि हामीले आन्दोलन गर्यौं । पार्टीका शीर्ष नेतालाई घेर्ने, सभामुखलाई दबाब दिने, संविधान निर्माणलाई अगाडि बढाउनका लागि हामीले दबाब आन्दोलन चलायौं । दबाब आन्दोलनपछि संविधान निर्माण प्रक्रिया नचलाएको भए हामीले संविधान सभाभित्रै धर्ना बस्नेसम्मका कडा कार्यक्रम तय गरेका थिए ।

संविधान निर्माण भइसकेपछि संघीयता कार्यान्वयनका चरणमा पनि हामीले आन्दोलन गर्नुपर्ने बाध्यता आयो । त्यतिबेला प्रदेश प्राप्तिका लागि आन्दोलन गर्नुपरेको थियो । त्यतिबेला अहिलेको कर्णाली प्रदेशलाई सुदूरपश्चिम प्रदेशमा गाँभिएको थियो । त्यो व्यावहारिक थिएन ।

हामीले पहिले मध्यपश्चिम १ प्रदेश हुनुपर्छ भनेर निकै दबाब दियौं । त्यतिबेला स्व. शुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँसँग पटक–पटक प्रयास पनि गर्यौं । यो प्रदेश उत्तर र पश्चिमसँग जोडिन्छ र छिटो समृद्धिमा पुन सकिन्छ भन्ने हाम्रो आकलन थियो । 

त्यो आन्दोलन सफल नभएपछि हामीले कमसेकम अहिलेका कर्णाली प्रदेशका जिल्ला समेटेर कान्छो प्रदेशको रुपमा हामीले पाउन सक्यौं । दबाब, जनताको आन्दोलन र बलिदानीले प्रदेश जन्माउन सक्यौं ।

संयोगले प्रदेश सभामै आउने अवसर मलाई मिल्यो पनि । प्रदेशको नामाकरण, राजधानी तोक्यौं । म पहिलो सरकारको आर्थिक मामिला तथा योजनामन्त्री पनि छु । जुन उद्देश्य थियो त्यो उद्देश्यमा गइयो र मैले १ किसिमले मेरो नामको सार्थकता पाएँ जस्तो लाग्छ ।

अब नामको नयाँ अर्थ नयाँ परिवेशमा बदल्दैछु । अब ज्वालाभन्दा बढी प्रकाश नै सार्थक हुनसक्छ । प्रकाश अब सिर्जना, समृद्धि र विकासको दीर्घ प्रतिकको रुपमा परिभाषित गरेको छु । त्यो बाटोमा संकल्पसहित प्रतिवद्धताका साथ हिँडिरहेको छु ।

salt training

कमेन्ट गर्नुहोस्