
सुर्खेत – कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णालीलाई सहकारीकै माध्यमबाट समृद्ध कर्णाली बनाउने बताएकी छन् ।
शनिवार आदर्श ग्रामीण बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री केसीले कर्णालीका विकट बस्तीका जनतालाई सहकारीका माध्यमबाट उत्पादन क्षेत्रमा लगाएर समृद्धिको यात्रा तय गरिने बताएकी हुन् ।
‘अहिले हामीसँग भौतिक पूर्वाधारको अभाव छ,’ उनले भनिन्, ‘भौतिक पूर्वाधार नभएपनि बस्ती–बस्तीमा सहकारी गठन गर्ने र ती सहकारीका माध्यमबाट जनतालाई उत्पादनमूलक क्षेत्रमा काम गर्न लगाउने योजना छ ।’ हरेक युवा, किसान उत्पादनमा जोडिएको खण्डमा मात्र कर्णाली प्रदेश आत्मनिर्भर हुने मन्त्री केसीको भनाई छ ।
कार्यक्रममा मन्त्री केसीले लोकान्तर डटकमका कर्णाली प्रदेश प्रतिनिधि तथा हाम्रो नयाँ नेपाल दैनिकका कार्यकारी सम्पादक शेरबहादुर थापालाई सम्मान गरेकी छन् । हरेक वर्ष सहकारीका क्षेत्रमा कलम चलाएबापत् संस्थाले १ जना पत्रकारलाई नगदसहित पुरस्कार प्रदान गर्ने कार्यक्रम अन्र्तगत पत्रकार थापालाई पुरस्कार प्रदान गरिएको हो ।
संस्थाका अध्यक्ष राजेन्द्र बुढाका अनुसार संस्थामा ४७ लाख ४२ हजार ८ सय रुपैयाँको शेयर रहेको छ । कोषमा ७ लाख ९६ हजार २ सय २ रुपैैयाँ रहेको छ । शेयर लाभांश कोषमा १ लाख ७१ हजार ५ सय ३२, पूँजी फिर्ता कोषमा १ लाख २६ हजार ६ सय ६९, कर्मचारी बोनस कोषमा ७७ हजार ६ सय ४०, घाटा पूर्ति कोषमा ३३ हजार ५ सय १५, सहकारी शिक्षा कोषमा ७६ हजार १ सय ५६, ऋण कोषमा ५१ हजार २ सय ५१ र संस्था विकास कोषमा ५९ हजार ६ सय ३९ रुपैयाँ रहेको छ ।
संस्थाको बचतमा १ करोड ७५ लाख ८५ हजार ६ सय ९३ रहेको छ भने कर्जा जोखिम कोषमा १० लाख ९० हजार ८ सय ८९ रुपैयाँ रहेको छ । बाह्य ऋण ७१ लाख ४० हजार १ सय ८९ रहेको संस्थाको अन्य दायित्व कर ३१ हजार १ सय ५ रहेको अध्यक्ष बुढाको भनाई छ ।
मुनाफामा लाग्ने कर रकम ७९ हजार ८ सय ९१ रहेको छ । संस्थासँग ३ करोड १४ लाख ६६ हजार ७ सय ७० रुपैयाँ रहेको बताइएको छ ।