
काठमाडौं — अस्ट्रेलियाविरुद्धको चार टेस्ट म्याचको शृंखलाको तेस्रो म्याच जितेर भारतले शृंखलामा २–१ को अपराजेय अग्रता लिएको छ । यससँगै भारतले बोर्डर गावस्कर ट्रफीको प्रतिरक्षा गरेको छ ।
मेलबर्नमा आइतवार सम्पन्न म्याचमा भारतले १३७ रनको विजय प्राप्त गरेको हो । ३९९ रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलिया २६१ रनमै समेटिएपछि भारतले ठूलो विजय हासिल गरेको हो ।
खेलको अन्तिम दिन भारतले जीतका लागि जम्मा दुई विकेट लिनुपर्ने थियो । पहिलो सेसनमा पानी परेर खेल अवरुद्ध भएपनि भारतले पाँच बलमै दुई विकेट लिएर खेल आफ्नो पक्षमा पारेको थियो ।
भारतको जीतमा जसप्रीत बुमराह नायक रहे । उनले पहिलो पारीमा ६ अनि दोस्रो पारीमा तीन विकेट लिएर अस्ट्रेलियाली ब्याटिङ अर्डरलाई तहसनहस बनाए । उत्कृष्ट प्रदर्शका लागि उनले म्यान अफ द म्याच अवार्ड समेत पाए ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो पारीमा सात विकेटको क्षतिमा ४४३ रन बनाउँदै पारी घोषित गरिदियो । चेतेश्वर पुजाराले १०६ रन बनाए भने कप्तान विराट कोहलीले ८३ रनको योगदान गरे । मयंक अग्रवालको ७६ र रोहित शर्माको नटआउट ६३ रन बन्यो ।
अस्ट्रेलियाका लागि प्याट कमिंग्सले तीन विकेट लिए ।
जवाफमा अस्ट्रेलियाले अत्यन्तै खराब ब्याटिङ प्रदर्शन गरेर जम्मा १५१ रन बनायो । बुमराहको घात बलिङका अगाडि टिक्न अस्ट्रेलियाका ब्याट्स्म्यानहरूलाई धौधो परेको थियो ।
लगभग ३०० रनको अग्रताका साथ दोस्रो पारी शुरू गरेको भारतले सामान्य प्रदर्शन गर्दै आठ विकेटको क्षति बेहोर्दै १०६ रन बनाएर पारी घोषित गरिदियो । मयंक अग्रवालले सर्वाधिक ४२ रन बनाए ।
प्याट कमिंग्सले २७ रन खर्चेर ६ विकेट हात पारे ।
३९९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलिया २६१ रनमा समेटियो । माथिल्ला ब्याट्स्म्यान टिकेर खेल्न नसक्दा तल्लो क्रममा प्याट कमिंग्सले दृढतापूर्वक ६३ रन बनाएको भए पनि जीतसम्म पु–याउन सकेनन् ।
बुमराह र रवीन्द्र जडेजाले तीन तीन विकेट लिए भने इशान्त शर्मा र मोहम्मद शामीको नाममा दुई दुई विकेट रह्यो ।
भारत र अस्ट्रेलियाबीच शृंखलाको चौथो तथा अन्तिम म्याच जनवरी ३ अर्थात् बिहीवारबाट शुरू हुनेछ ।