
काठमाडौं– खैरो हेरोइनलगायतको प्रतिबन्धित लागू औषधसहित देशका विभिन्न ठाउँबाट ९ जना पक्राउ परेका छन् ।
प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोको टोलीले बर्दियाको मधुवन–६ घर भएका ३० वर्षीय शंकर कुमार बिकलाई ५० ग्राम खैरो हेरोइनसहित कलंकीबाट पक्राउ गरेको छ ।
यस्तै ब्यूरोको विशेष सूचना र निर्देशनको आधारमा २ सय ३३ ग्राम खैरो हेरोइनसहित झापामा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको दमक–६ का ३६ वर्षी संग्राम आङ्देम्बे, अर्जुनधारा–१० का ४२ वर्षी भीमबहादुर अधिकारी, उनकी श्रीमेत ३८ वर्षीया ओममाया खतिवडा (अधिकारी) र झापा कचनकवल–२ घर भएकी ३६ वर्षी रेवतीमाया डाँगी छन् ।
लागू औषध नियन्त्रण ब्यूरोको नेपालगञ्जस्थित शाखा कार्यालयबाट खटिएको टोलीले बाँकेको नेपालगन्ज–७ बाट ८ ग्राम ७५० मिलिग्राम खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज–७ का १९ वर्षीय साहित खान र सोही ठाउँ बस्ने १८ वर्षीय सद्धाब खान छन् ।
ब्यूरोको नेपालगन्जस्थित कार्यालयबाटै खटिएको टोलीले नेपालगन्ज ३ बस्ने २४ वर्षीय इसाक हलुवाइलाई ५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ ।
यस्तै, लागू औषध नियन्त्रण ब्यूरोका भैरहवास्थित शाखा कार्यालयबाट खटिएको टोलीले विभिन्न प्रकारको लागू औषधसहित सिन्धुपाल्चोकको मेलम्ची–६ घर भएका ३३ वर्षीय रस्बिन नेपालीलाई पक्राउ गरेको छ । उनको साथबाट ३० एम्पुल डाइजापाम, ३० एम्पुल फेनारगन, ३० एम्पुल टालजेसिक र १० ट्याब्लेट नाइट्रोसन बराम भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जाएको छ ।