०३ साउन २०८३, आइतबार

सार्वजनिक यातायातलाई व्यवस्थित गर्न प्राधिकरण गठन गर्ने तयारीमा सरकार

सार्वजनिक यातायातलाई व्यवस्थित गर्न प्राधिकरण गठन गर्ने तयारीमा सरकार

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो चार महीनामा सडक विभागअन्तर्गतका आयोजनामध्ये २३ वटामा ८० प्रतिशतभन्दा बढी काम भएको जनाएको छ । 

मन्त्रालयमा आइतवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री रघुवीर महासेठले ५० देखि ८० प्रतिशत प्रगति भएका सडक आयोजनाको सङ्ख्या सात र ५० प्रतिशतभन्दा कम प्रगति भएका आयोजनाको सङ्ख्या पाँच रहेको जानकारी दिए । 

त्यस्तै ६ आयोजनाको काम पहिलो चार महीनामा शुरु हुन सकेको छैन । “रेल विभागतर्फ जयनगर–जनकपुर–कुर्था ३५ किमीमा केही महीनामा रेल सेवा शुरु हुनेछ, एक वर्षमा थप १७ किमी रेलमार्ग तयार गरी बिजुलपुरासम्म ५२ किमी दूरीमा रेल गुड्नेछ, दुई वर्षभित्र बर्दिवास र चार वर्षसम्म निजगढसम्म रेल गुड्नेछ”,उनले भने । 

पुस २६ सम्म भारतबाट कहिलेसम्म रेल आउने भन्ने प्रष्ट हुने मन्त्रालयले जनाएको छ । नेपाली झण्डासहितको रेल नै गुडाउने निर्णय यसअघि नै भइसकेको सो अवसरमा मन्त्री महासेठले जानकारी दिए । काठमाडौँ–वीरगञ्ज रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन भारतीय परामर्शदाताबाट र केरुङ–काठमाडौँको सम्भाव्यता अध्ययन चिनियाँ पक्षबाट भइरहेको मन्त्रालयले जनाएको छ । शहरी सडक यातायातलाई व्यवस्थित गर्ने अवधारणापत्र र ३०० वटा विद्युतीय बस खरीद गर्ने नीतिगत निर्णय मन्त्रिपरिषद्बाट भएको मन्त्री महासेठले सुनाए । 

सो अवसरमा १६ यातायात व्यवस्था कार्यालय र १३ सेवा कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गरिएको जनाइएको छ । यातायातलाई अझ व्यवस्थित गर्न यातायात प्राधिकरणको अवधारणा ल्याइएको छ । प्राधिकरण बनेपछि सार्वजनिक यातायात सञ्चालनको जिम्मेवारी दिइनेछ । विभागलाई नीतिगत काम गर्ने अख्तियार दिइने उनले बताए । यातायात समितिमार्फत सञ्चालन भइरहेका सवारीलाई कम्पनीमा लैजान केही कानूनी व्यवस्थाले अवरोध खडा गरेकाले संशोधन गर्ने प्रक्रिया अघि बढाइएको छ । 

ती कानून संसदको चालू अधिवेशनबाट नै संशोधन हुने विश्वास मन्त्री महासेठले व्यक्त गरे । मन्त्रालयका सचिव मधुसूदन अधिकारी र सहसचिव एवं प्रवक्ता शिवहरि सापकोटाले पहिलो चार महीनामा भएका कामका बारेमा जानकारी गराका थिए ।

salt training

कमेन्ट गर्नुहोस्