२६ जेठ २०८३, मंगलबार

वैदेशिक व्यापारमा भारतको कब्जा कायमै, आयात मात्रै ३१ प्रतिशतले बढ्यो

पुस १६, २०७५
वैदेशिक व्यापारमा भारतको कब्जा कायमै, आयात मात्रै ३१ प्रतिशतले बढ्यो

काठमाडौं– नेपालको वैदेशिक व्यापारमा भारतको कब्जा कायमै रहेको देखिएको छ ।

व्यापार निकासी तथा प्रवर्द्धन केन्द्रको तथ्याङ्कअनुसार नेपालको वैदेशिक व्यापार भारतको कब्जामै रहेको देखिएको हो ।

चालू आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालमा भएको कूल आयातको ६४ प्रतिशत आयात भारतबाट मात्रै भएको छ ।

यो गत वर्षको सोही अवधिको तुलनामा ३१ दशमलव १ प्रतिशतले भएको वृद्धि हो ।

गत वर्षको पहिलो पाँच महिनामा भारतबाट मात्रै २ खर्ब ९४ अर्ब ८९ लाख रुपैयाँ बराबरको वस्तु आयात भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा ३ खर्ब ८६ अर्ब ५५ लाख रुपैयाँ बराबरको वस्तु भारतबाट मात्रै आयात भएको हो ।

त्यस्तै गत आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालबाट भारततर्फ १८ अर्ब १८ रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । चालू आर्थिक वर्षको सोही अवधिमा नेपालबाट भारततर्फ २१ अर्ब ९२ करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।

चालू आर्थिक वर्षमा नेपालबाट हुने कूल निर्यातको ५८ प्रतिशत वस्तु भारततर्फ निर्यात भएको छ ।

चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालको कूल वैदेशिक व्यापार ६ खर्ब ४४ अर्ब ५० करोड रुपैयाँ बराबरको भएको छ ।

सो अवधिमा नेपालबाट हुने निर्यात ३७ अर्ब ५० करोड रुपैयाँ बराबरको र कूल आयात ६ खर्ब ७ अर्ब रुपैयाँ बराबरको भएको तथ्याङ्कले देखाएको छ ।

गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा नेपालको कूल वैदेशिक व्यापार ३२ दशमलव ३ प्रतिशतले वृद्धि भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा भारतपछि नेपालको सबै भन्दा बढी व्यापार चीनसँग भएको तथ्याङ्कले देखाएको छ ।

सो अवधिमा नेपालको कूल वैदेशिक आयातको १४ प्रतिशत चीनबाट मात्रै आयात भएको छ ।

नेपालबाट हुने कूल निर्यातको ३ प्रतिशत निर्यात चीनतर्फ निर्यात हुने भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

चालू आर्थिक वर्षमा चीनसँगको व्यापारमा पनि वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

चीनबाट हुने आयातमा ४७ प्रतिशतले वृद्धि भएको र चीनतर्फ हुने निर्यातमा ३ दशमलव ७ प्रतिशतले वृद्धि भएको केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

सो अवधिमा कूल आयातको २२ प्रतिशत आयात अन्य मुलुकबाट भएको तथ्याङ्कले देखाएको छ । अन्य मुलुकतर्फ नेपालबाट हुने कूल निर्यातको ३९ प्रतिशत वस्तु निर्यात भएको छ ।

नेपालको वैदेशिक व्यापार चीन र भारतबाहेक अमेरिका, जर्मनी, बेलायत, टर्कि, फ्रान्स, इटाली, कयानडा, जापन लगायतका मुलुकसँग हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्