
काठमाडौं — संसारभरि प्लास्टिक पदार्थजन्य प्रदूषणको प्रकोप छाएको छ । प्लास्टिकको फोहरले पृथ्वी मात्र नभई हवाई यात्रामा पनि प्रदूषण फैलाइरहेको छ ।
प्लास्टिकजन्य प्रदूषण कम गर्नका लागि एक एयरलाइन्सले ठूलो कदम उठाएको छ । पोर्चुगलको एयरलाइन्स हाई–फ्लाईमा प्लास्टिक पटक्कै प्रयोग गरिएको छैन ।
हाई–फ्लाईको यो उडान बुधवार पोर्चुगलको राजधानी लिस्बनबाट ब्राजिल गयो । उडानमा सिंगल युज प्लास्टिकको एउटा पनि सामग्री थिएन । विमानमा प्लास्टिक कप, प्लास्टिक सिल्भरवेयर, प्लास्टिक ककटेल पाइप, प्लास्टिक फूड कन्टेनर केही पनि थिएन ।
एयरलाइन्सले प्रयोगका रूपमा यस्तो पहल गरेको हो । तर कम्पनीले सन् २०१९ देखि सिंगल युज प्लास्टिक उडानमा पूरै बन्द गर्ने इच्छा देखाएको छ ।
प्लास्टिक पदार्थको साटो प्राकृतिक बाँसको भाँडो वा बोटबिरुवाबाट बनेका कुरा प्रयोग गरिनेछ । केही भाँडालाई फेरि प्रयोग गरिनेछ ।
एजेन्सी