
काठमाडौं, २४ फागुन — नेकपा एमालेद्वारा आयोजित कार्यक्रममा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सुरक्षाकर्मीहरु वीचको झडपको क्रममा प्रहरीको गोलि लागेर तीन जनाको ज्यान गएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
घटनाको निष्पक्ष छानविन गरी दोषीउपर कानूनी कार्यवाही गर्न, मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घटनामा घाइते भएका सर्वसाधारण, प्रदर्शनकारी तथा सुरक्षाकर्मीहरुको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई आग्रह गरेको छ ।
झडपको क्रममा घाइते भएका तथा मृतकहरुको अवस्था सम्बन्धमा तथ्यहरु संकलन गर्न आयोगले क्षेत्रीय कार्यालय विराटनगरबाट धरान तर्फ एक अनुगमन टोली आजै परिचालन गरिएको आयोगले जनाएको छ ।
सप्तरीमा उपचाररत घाइतेहरुको अवस्था अनुगमनको लागि क्षेत्रीय कार्यालय जनकपुरबाट अर्को टोली खटाइएको आयोगले जनाएको छ । आयोगले एक विज्ञप्ती जारी गर्दै अनुगमनको क्रममा खटिएको टोली र सवारी साधन माथि भएको मोर्चाका कार्यकर्ताहरुको आक्रमणबाट भएको क्षतिप्रति आयोग खेद प्रकट गरेको छ ।
आयोगको अनुगमन, अनुसन्धान कार्यमा कतैबाट पनि अवरोध सृजना नगर्न आयोगले ध्यानआकर्षण गराएको छ ।
कुनैपनि व्यक्तिको जीवनको अधिकार सुनिश्चित गर्नुृपर्ने निकायबाटै अत्यधिक बल प्रयोग भई यस्तो परिस्थिति उत्पन्न हुनु मानव अधिकार सम्मत मान्न नसकिने समेत प्रवक्ता मोहना अन्सारीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।