
काठमाडौं — चीनका राष्ट्रपति शी चिनफिङले ताइवानका जनतालाई उनीहरूको देश चीनसँग पुनः एकीकरण हुने नै छ भनी स्वीकार गर्न आग्रह गरेका छन् ।
चीन र ताइवानबीचको सम्बन्ध सुध्रेको ४० वर्षपछि उनले चीनसँग शान्तिपूर्ण एकीकरण गर्ने बेइजिङको आह्वानलाई दोहो–याएका हुन् । चीनले ताइवानका लागि एक देश दुई प्रणालीको प्रस्ताव राखेको छ ।
तर उनले चीनसँग बल प्रयोग गर्ने अधिकार भएको चेतावनी समेत दिए ।
ताइवान स्वशासित र वस्तुगत रूपमा स्वतन्त्र भए पनि उसले चीनबाट स्वतन्त्र भएको औपचारिक घोषणा कहिले पनि गरेको छैन ।
बेइजिङले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्त मान्छ ।
शीले दुवै देश उही चिनियाँ परिवारको सदस्य भएको र ताइवानी स्वतन्त्रता इतिहासको विपरीत धार र सकिएको बाटो रहेको बताए ।
स्वतन्त्रताले दुःखकष्ट मात्र ल्याउने कुरा ताइवानीहरूले बुझ्नुपर्ने शीले बताए । ताइवानी स्वतन्त्रतालाई प्रवर्द्धन गर्ने कुनै पनि गतिविधिलाई बेइजिङले नसहने उनले थपे ।
चिनियाँहरूको महान् पुनर्जागरणका लागि एकीकरण नै अकाट्य आवश्यकता भएको शीको तर्क छ ।
उनले ताइवानसँगको सम्बन्ध चीनको घरेलु राजनीतिको एक अंग भएको र विदेशी हस्तक्षेप असह्य भएकोमा जोड दिए ।
शान्तिपूर्ण पुनः एकीकरणमा हस्तक्षेप गर्ने र ताइवानी पृथकतावादी गतिविधिलाई उक्साउने बाहिरी शक्तिका विरुद्ध सबै आवश्यक उपाय अपनाइने उनले चेतावनी दिए ।
बीबीसीबाट