
काठमाडौं — पाकिस्तानकी सुपरमोडल आलिया जैदीले कराँचीमा हालै एक फेक पार्टी राखिन् ।
त्यसमा ठूला फिल्म स्टार र महंगा गहना लगाएका मानिस त देखिएनन् तर अभिनेताहरूको मास्क लगाएका अनि नक्कली हीराको हार भिरेका मानिस चाहिँ देखिए ।
आलियाका अनुसार, भारतका अर्बपति मुकेश अम्बानीकी छोरी ईशाको बिहेको पार्टीको चर्चा पाकिस्तानमा खुबै भयो । त्यसैको सिको गर्दै आफूलाई पार्टी गर्न मन लागेको उनले बताइन् ।
आलियाले आफ्नी साथी तथा मोडल फ्रेहा अल्ताफलाई यिबोन्सेको जस्तो कपडा र लूकमा प्रस्तुति दिन बोलाइन् । आलियाका अनुसार, उनको उद्देश्य अम्बानीको जस्तो खर्च गर्ने नभई ठूलो पार्टीको अनुभव बटुल्नु नै थियो ।
पार्टीलाई विलासी अनुभव गराउनका लागि कार्यक्रमस्थलमा केही ठाउँमा नक्कली नाम दिइयो । कार्यक्रमस्थल बाहिर बोर्डमा लेखियो – १० करोड डलरको पार्टी । अनि अर्को बोर्डमा लेखियो – २६ क्यारेट सुनको पर्खाल । त्यसबाहेक
हात्तीको पुत्लालाई पार्टीमा आएको दुई करोड डलरको हात्ती लेखियो । मानिसले नाम पढेर नै महंगो पार्टीको अनुभव लेऊन् भन्ने उद्देश्य आलियाको थियो ।
पार्टीमा पाकिस्तानी टीभीका धेरै मानिस पुगे । पाक फेसन परिषद्का अध्यक्ष तथा डिजाइनर दीपक परवानी अमिताभ बच्चनको मास्क लगाएर पुगे । एक महिलाले ऐश्वर्या रायको मास्क लगाइन् ।
कपडा देखाउने पुत्ला म्यानेक्विनमा केही अन्य बलिउड स्टारको मास्क लगाइयो ।
आलियाका अनुसार, भारत र पाकिस्तानको परम्परा, संस्कृति, शोख र संगीत समान छन् ।
एजेन्सी