
काठमाडौं – नेपालका प्रविधि व्यवसायीहरूको समूह गूगल बिजनेस ग्रूप काठमाडौंले शनिवार नेपालको सबैभन्दा ठूलो स्टार्टअप मेला जीबीजी बिजफेस्ट आयोजना गर्ने भएको छ । जीबीजी बिजफेस्ट नेपालमा यस प्रकारको पहिलो प्रविधि र व्यवसाय सम्बन्धी प्रदर्शनी हो ।
खल्ती डिजिटल वालेटसँगको मुख्य सहकार्यमा गर्न लागिएको यस मेलाको उद्देश्य देशभरबाट नवउद्यमीहरू र स्टार्टअप संस्थापकहरूलाई एउटै प्लेटफर्ममा ल्याउने र प्रवर्धन गर्ने रहेको छ ।
यस कार्यक्रममा विशेषगरी नेपालका सबैभन्दा लोकप्रिय एन्ड्रोइड एप्सका डेभलपर र प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ ।
कार्यक्रमको अवधारणाको बारेमा बोल्दै गूगल बिजनेस ग्रूप काठमाडौंका प्रबन्धक अमित अग्रवाल भन्छन्, ‘जीबीजी बिजफेस्ट विश्वका विभिन्न देशहरूमा वार्षिक रूपमा आयोजना हुने कार्यक्रम हो । हामी नेपालमा पहिलोपटक
यस्तो कार्यक्रम गर्न र देशभरका स्टार्टअपहरूलाई एकै स्थानमा ल्याउन पाउँदा अत्यन्तै उत्साहित छौं । यस कार्यक्रमका सहभागीहरूले गूगलका नयाँ टूल र आइडिया सिक्ने अवसर पाउनेछन् जुन उनीहरूको व्यापार प्रवर्धन र
विस्तार गर्न एकदमै महत्त्वपूर्ण हुनेछ । यस कार्यक्रममा हामी नेपालका अधिकांश युवा उद्यमीहरू, एप डेभलपरहरू, साथै गूगलका प्रविधि र सेवाहरूमा रुचि राख्ने विद्यार्थीहरू लगायतको सहभागिताको आशा गरेका छौं ।”
मेलामा देशभरका सयभन्दा बढी स्टार्टअपहरू र एप डेभलपरहरूले आफ्नो उत्पादन र सेवाको प्रदर्शन गर्ने अपेक्षा आयोजकको रहेको छ ।
साथै, कार्यक्रममा गूगलका प्रविधिमा चासो राख्ने र स्टार्टअप गर्न इच्छुक तीनहजार भन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने आयोजकको विश्वास छ ।
कार्यक्रममा विशेषज्ञहरूले गुगलका विभिन्न नयाँ नयाँ प्रविधिसम्बन्धी प्रस्तुति दिनेछन् ।
प्रदर्शनीमा ‘गूगल माई बिजनेस’ लक्षित एउटा विशेष स्टल पनि रहनेछ । प्रदर्शनीमा सहभागी स्टार्टअपहरूले उक्त स्टलमार्फत आफूलाई गूगलको व्यापार निर्देशिका (गूगल बिजनेस डाइरेक्टरी) मा सूचीबद्ध गर्न सक्नेछन् ।
उक्त निर्देशिकामा सूचीकृत भएपश्चात् ग्राहकहरूले व्यवसाय र त्यसका विवरणहरू पत्ता लगाउन सक्नेछन् । यसका साथै उक्त व्यवसायहरू गूगल सर्च रिजल्ट पेजको पहिलो पृष्ठमा देखापर्ने सम्भावना बढ्नेछ ।
यस कार्यक्रमले स्टार्टअपहरूको प्रवर्धन र विकासमा टेवा पु–याउने आयोजकको विश्वास छ ।
धेरैभन्दा धेरै स्टार्टअपहरू लाभान्वित होऊन् भनेर मेलामा सहभागी स्टार्टअपहरूका लागि स्टल बूकिङ निःशुल्क गरिएको छ । इच्छुक व्यवसायीहरूले यो लिङ्कमा गई सजिलै स्टल बूक गर्न सक्नेछन् । साथै, मेलाको अवलोकन गर्न
सर्वसाधारणको लागि प्रवेश निःशुल्क गरिएको छ ।
कार्यक्रमको विवरण :
कार्यक्रम : जीबीजी बिजफेस्ट
मिति : शनिबार, २१ पौष २०७५
समय : बिहान १० बजे देखि
स्थान : ग्यालेक्सी पब्लिक स्कूल परिसर, ज्ञानेश्वर, काठमाडौं
स्टल बूकिङ र प्रवेश : निःशुल्क