काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता लिने बताउनुभएको छ ।
झापाका नेकपा नेता तथा स्थानीय तहका जनप्रतिनिधि र प्रशासकीय अधिकृतहरूसँग बुधवार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले कतिपय विकास निर्माणका योजना प्रदेश वा संघ कसले सञ्चालन गर्ने भनेर द्विविधा भएकोले केही ढिलाइ भएको बताउनुभयो ।
‘यस्ता द्विविधाले पुरानाभन्दा नया–नयाँ योजना बनाउनेतिर सबैको ध्यान गयो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब कस्ता योजना कसले सञ्चालन गर्ने भनेर स्पष्ट भइसकेकोले सबै योजनाहरु तिव्रताका साथ अगाडि बढ्छन् ।’
सो अवसरमा प्रधानमन्त्री ओलीको गृहनगर दमकका प्रसासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले दमकमा सञ्चालनको तयारीमा रहेका राष्ट्रिय आयोजनाहरूको प्रगति बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।
प्रतिनिधि मण्डलका सदस्यहरूले प्रधानमन्त्रीसामु आफूहरूका विभिन्न माग राखेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले झापाली जनप्रतिनिधीहरूले राखेका मागबारे आफू सकारात्मक रहेको बताउनुभएको छ ।
प्रतिनिधि मण्डलमा नेकपाका केन्द्रीय सदस्य नरेश खरेल र देवेन्द्र दाहाल सांसद पवित्रा निरौला खरेल, पूर्वसासद दीपक कार्की, जिसस झापाका संयोजक सोमनाथ पोर्तेल, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, नेकपाका नेताहरू चिन्तन पाठक, गगन पुरी लगायत सहभागी थिए ।