काठमाडौँ, २५ फागुन - राष्ट्रपति विद्यादेवी भण्डारीले नवलपरासीमा मंगलबार शाश्वत धाम उद्घाटन गरिन् । लगत्तै पूर्वराजा ज्ञानेन्द्रले त्यही मन्दिरमा पूजा गरे, आजको नयाँ पत्रिकामा खबर छ । एउटै कार्यक्रममा फरकफरक समयमा उपस्थित भएर उनीहरूले आ–आफ्नो भूमिका पूरा गरे ।

नवलपरासीको देवचुली नगरपालिका– २ दुम्कौलीस्थित चौधरी उद्योग परिसरमा निर्माण गरिएको धाम उद्घाटन गर्न राष्ट्रपति भण्डारी बिहान १० बजे पुग्ने कार्यक्रम थियो । तर, उनको हेलिकोप्टर निर्धारित समयभन्दा करिब एक घन्टापछि मात्र अवतरण गर्यो ।
धाम उद्घाटन गरेर शान्त शैलीमा राष्ट्रपति बाहिरिएलगत्तै जयजयकारका साथ पूर्वराजा प्रवेश गरे । हिन्दू धर्म र राजतन्त्रका समर्थकले कार्यक्रमस्थल वरपर ज्ञानेन्द्रको स्वागतमा तुल–ब्यानर पनि टाँसेका थिए । ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्ने नारा लगाउँदै समर्थकहरूले उनलाई मञ्चसम्म पुर्याएका थिए । पूर्वराजाका लागि शाश्वत धाममा पूजा गर्ने भूमिका छुट्याइएको थियो जो उनले पूरा गरे । उनलाई बिदाइ गर्दा पनि नारा लगाउने र सेल्फी खिच्नेको प्रतिस्पर्धा थियो ।