०६ असार २०८३, शनिबार

पोखरामा जुम्ल्याहा सम्मेलन

पोखरामा जुम्ल्याहा सम्मेलन

पोखरा–जता हेर्यो त्यतै जुम्ल्याहा । हुबहु अनुहार, समान उचाइ र उस्तै लवाइका यस्ता जोडी आफै पनि अचम्मित थिए । 

नेपालमै पहिलो पटक पोखरामा शनिबार आयोजित जुम्ल्याहा सम्मेलनको दृश्य हो यो । जुम्ल्याहाको स्वास्थ्य अवस्था, उनीहरुको समस्या र आपसी भलाकुसारीको मेसो मिलाएको थियो, लायन्स क्लब अफ पोखरा नर्सेसले ।  

चिप्लेढुंगास्थित पोखरा टे«ड मलको इन्द्रेणी क्याफे एण्ड बैंकुटमा शनिबार आयोजित कार्यक्रममा २९ जोडी जुम्ल्याहा उपस्थित भए । त्यसमा सबैभन्दा सानो साढे २ वर्षदेखि बढीमा ४७ वर्षसम्म उमेर समूहको जुम्ल्याहा आएको क्लब अध्यक्ष नीलम महर्जनले जानकारी दिइन् । जुम्ल्याहासँग सेल्फी खिच्नेहरुको पनि उस्तै भिड थियो । 

कार्यक्रम बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलाले जुल्याहाको स्वास्थ्य जाँच गरेका थिए । उनले जुम्ल्याहा सन्तान जन्माउँदा आमालाई पनि उस्तै सकस हुने र हुर्काउन समेत कठिनाइ हुने बताए । 

जुम्ल्याहा सन्तानकी आमा अंशु ढकाल लम्सालले बच्चा हुर्काउँदा पालैसित एकलाई माइतमा र अर्कोलाई घरमा राखेर हुर्काएको बताइन् । उनका गंगा जमुना नाम गरेका जुम्ल्याहा सन्तान छन् । दम्पत्ति जागिरे हुँदा बच्चा हुर्काउन निकै कठिन भएको सम्झिदै उनले भनिन्, ‘एउटा रुँदा अर्को पनि रुने हुँदा हामीहरु छुट्टाछुट्टै कोठामा एउटा–एउटा च्यापेर कैयौं रात बितायौं ।’ 

सम्मेलनमा आफूले सोचेभन्दा बढी जुम्ल्याहा आएकोमा खुसी लागेको महर्जनले बताइन् । अस्पतालमा जुम्ल्याहा सन्तान जन्माएका आमा र बच्चाको हेरचाह क्रममा जुम्ल्याहालाई एकै ठाउँ राख्दा कस्तो माहोला बन्ला भन्ने सोच २ वर्षअघि पलाएको उनले सम्झिन् । आफ्नो सोच अहिले आएर पूरा भएको र सहयोग गर्ने सम्पूर्णमा धन्यवाद समेत दिइन् । 

लायन्स इन्टरनेशनल ३२५ बी १ नेपालका एमजेएफ लायन विश्वेश्वर आचार्यले नर्सिङ पेसा आफैमा सम्मानित भएको र जुम्ल्याहा जुटाएर सो कार्य गरेकोमा धन्यवाद ज्ञापन दिए । 

सम्मेलनमा सहभागी जुम्ल्याहामध्ये एक जनाका जुम्ल्याहा सन्तान समेत उपस्थित थिए । कास्कीको मादी ७ घर भइ हाल पोखरा १३ बस्ने गंगाकुमारी सापकोटाले २०५४ सालमा जुम्ल्याहा छोरा अमृत र अनिल पाएकी हुन् । जुम्ल्याहा गंगाकुमारीको बहिनी जमुनादेवी पोखरा १३ मै बस्छिन् । सम्मेलनमा सहभागी जुम्ल्याहामध्ये केटाको तुलनामा केटीको संख्या बढी थियो ।

सम्मेलनले आगामी दिनमा अझै बढी जुुम्ल्याहाको खोजी गरी बृहत भेलामार्फत क्लब गठन गर्ने र सामाजिक हकहितको पक्षमा काम गर्ने योजना बनाएको लायन्स पोखरा नर्सेस अध्यक्ष नीलम महर्जनले जानकारी दिइन् । 
नर्सहरुमात्र रहेको क्लब पोखरा नर्सेस गत वर्षमात्र स्थापित भएको हो । क्लबमा ४३ जना नर्स आबद्ध रहेको सचिव गीता जोशीले बताइन् ।


 

कमेन्ट गर्नुहोस्