
काठमाडौं — फिलिपिन्सको पासिग शहरमा एक नवविवाहित जोडीले बिहेको भोजमा क्याटरिङ गर्ने मानिसलाई प्रहरी चौकी पु–याएका छन् ।
क्याटरिङको मान्छेले पाहुनाहरूलाई खानाको प्रबन्ध मिलाएको थिएन । उसले हतार हतारमा केक पनि नक्कली पठाएछ ।
केकमा ब्रेडको ठाउँमा थर्मोकोल थियो र त्यसमाथि क्रीम दलिएको थियो । नवविवाहितले केक काटेपछि पो आफू ठगिएको थाहा पाए ।
स्थानीय मिडियाको रिपोर्टअनुसार, ४० वर्षीय झोन चेन र २६ वर्षीया शाइन तोमायाले लगभग साढे ३ लाख रुपैयाँ खर्च गरेर प्रीतिभोज दिएका थिए । चर्चमा बिहे गरेपछि होटल पुग्दा उनीहरूले खानेकुराको प्रबन्ध नै नगरिएको भेटे ।
लाजमर्दो भएपछि दुवैले नजिकैको रेस्टुराँबाट पाहुनाहरूका लागि खाना मगाए ।
खाना खाएपछि जोडीले केक काट्यो । केक त थर्मोकोलले पो बनेको रहेछ । त्यो थाहा पाएपछि उनीहरू पाहुनाका अगाडि फेरि लज्जित हुनुप–यो । तलको दुई पत्र थर्मोकोलले बनाइएको थियो अनि त्यसलाई क्रीमले छोपिएको थियो ।
पाहुनाका अगाडि बेइज्जती भएपछि दुलही ग्वाँ ग्वाँ रोइन् । त्यसपछि पाहुनासँगै दुलाहा र दुलही प्रहरी चौकी पुगे र क्याटरिङ गर्ने मान्छेविरुद्ध उजुरी दर्ता गरे । प्रहरीले क्याटररलाई पक्राउ गरेको छ ।
एजेन्सी