
काठमाडौं — अमेरिकामा बच्चा जन्मेको एउटा अनौठो घटना सार्वजनिक भएको छ । त्यहाँको एक अस्पतालमा करीब १० वर्षदेखि कोमामा परेकी एक महिलाले सन्तान जन्माएकी छन् ।
प्रहरी र अस्पताल कर्मचारीले यो कसरी सम्भव भयो भनी बुझ्न सकेका छैनन् ।
एरिजोना राज्यको एक शहरमा रहेको ह्यासिएन्डा हेल्थकेयरमा ती महिला १० वर्षदेखि कोमामा थिइन् । डिसेम्बर २९ मा उनलाई अचानक प्रसव पीडा शुरू भयो ।
अनि अस्पताल कर्मचारीले उनले बिस्तारै कराएको आवाज सुने । पछि पो थाहा भयो, महिला त गर्भवती रहिछन् । महिलाले छोरो जन्माएकी छन् ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । अस्पताल कर्मचारी पनि शंकाको घेरमा छन् । महिलालाई कोमा अवस्थामै बलात्कार गरिएको हुनसक्ने ठानिएको छ ।
घटना सार्वजनिक भएपछि अन्य अस्पतालका बिरामी समेत चिन्तित भएका छन् । घटनाको चारैतिर निन्दा भइरहेको छ ।
टाशा मेनेकर नामक महिला वकिलले अस्पतालमा काम गर्ने कर्मचारीको डीएनए परीक्षण गरिनुपर्ने माग राखेकी छन् ।
एरिजोनाका गभर्नर डउग डेजीेले घटना दुःख प्रकट गर्दै रोगीको सुरक्षामा विशेष ध्यान दिनका लागि ह्यासिएन्डा हेल्थकेयरलाई निर्देशन दिएका छन् ।
एजेन्सी