
काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियासँग दोस्रो शिखर सम्मेलन स्थलका विषयमा कुराकानी भइरहेको बताएका छन् ।
‘हामीहरू ठाउँको कुराकानी गरिरहेका छौं,’ उनले पत्रकारहरूलाई आइतवार बताए, ‘यसको घोषणा चाँडै नै गरिनेछ ।’
उनले उत्तर कोरियाली नेता किम जोङ–उनसँग फेरि कुराकानी गर्ने इच्छा देखाएका हुन् ।
उनीहरूले गत जुन महिनामा ऐतिहासिक शिखर सम्मेलनका लागि भेटघाट गरेका थिए । अमेरिकाले उत्तर कोरियासँग सन् १९५० देखि १९५३ सम्म युद्ध लडेको थियो ।
ट्रम्प र किमले अर्को शिखर सम्मेलन छिट्टै गर्ने अपेक्षा गरिएको छ तर तालिका घोषणा गरिएको छैन ।
ट्रम्पले प्योङयाङसँगको सैन्य तनाव निकै घटेको बताए ।
‘रकेटहरू छैनन् । केही पनि छैन । हामीहरू निकै राम्रो गरिरहेका छौं,’ उनले भने । किमसँग अप्रत्यक्ष संवाद गरेको पनि उनले थपे ।
‘अहिले हामीहरूबीच निकै राम्रो संवाद चलिरहेको छ । एकदमै राम्रो,’ उनले भने ।
एजेन्सी