
काठमाडौं — थाइल्यान्डको होटेलमा आफैंलाई थुनेकी १८ वर्षीया युवतीलाई उनको इच्छाविपरीत साउदी अरब नपठाइने थाइ अधिकारीहरूले बताएका छन् । उनी साउदी अरबमा रहेको परिवारबाट भागेकी हुन् र उनले इस्लाम धर्म परित्याग गरेको घोषणा गरेकी छन् ।
युवतीको नाम रहाफ मोहम्मद अल–कुनुनले आफूलाई बैंकस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ट्रान्जिट जोन होटेलमा थुनेकी छन् । आप्रवासन अधिकारीहरूले उनलाई कुवेत जाने विमानमा नराखून् भनी कोठामा उनी थुनिएकी हुन् ।
उनी अस्ट्रेलिया जाने क्रममा थाइल्यान्ड पुगेकी थिइन् र उनलाई बाहिर आउन दिइएको थिएन । उनी अस्ट्रेलियामा तीन महिनाको मल्टिपल एन्ट्री सहितको पर्यटक भिसा लिएर पुग्ने सुरमा थिइन् । त्यहाँ पुगेपछि उनी शरण माग्ने कोशिश गर्ने थिइन् ।
कुनुनले आफूलाई साउदी अरब फर्काइएमा आफ्नो हत्या हुने बताउँदै संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकायका प्रतिनिधिलाई नभेटुन्जेल होटेलको कोठाबाट बाहिर ननिस्कने प्रतिज्ञा गरेकी छन् ।
थाइल्यान्डको आप्रवासन ब्युरोका प्रमुख समुत प्रकनले भने, ‘उनलाई सुपुर्दगी गर्दा उनको मृत्यु हुन्छ भने हामीहरू त्यो पटक्कै चाहँदैनौं ।’ कुनुनले यूनसीएचआरका प्रतिनिधिसँग सोमवार बेलुका कुरा गर्ने उनले बताए ।
कुनुनले आफ्नो परिवारबाट भाग्न चाहेको किनकि उनीहरूले उनलाई शारीरिक र मानसिक दुर्व्यवहार गरेको बताइन् । उनले युरोप, अमेरिका, क्यानडा र अस्ट्रेलियाबाट सहयोग माग गरेकी छन् । उनको परिवारसँग कुवेत भ्रमणका क्रममा उनी भागेकी थिइन् ।
एजेन्सी