काठमाडौं, २५ फागुन — युरोपेली मुलुक स्लोभेनियाका राष्ट्रपति बोरुत पाहोरले सामाजिक सञ्जालमा आफ्ना सन्देशहरू दिएर जनताको मन जित्ने गरेका छन् ।

इन्स्टाग्राममा सन् २०१२ को राष्ट्रपतीय निर्वाचनदेखि फोटो हाल्न थालेका पाहोरले त्यो चुनाव आश्चर्यजनक रूपमा जितेका थिए । यस वर्ष हुने अर्को निर्वाचनमा पनि उनैले जित्ने विश्वास गरिएको छ ।
इन्स्टाग्राममा उनले पाउने लाइकहरूबाटै उनले चुनाव जित्ने संकेत देखिएको हो ।
उनका २४ हजार फलोअरले उनका अनेकौं पोजपोजका फोटाहरू रुचिपूर्वक हेर्ने गरेका छन् ।
एउटा फोटोमा उनले माथिल्लो भाग नांगै पारेर कुममा डल्फिनको ट्याटू देखाएका छन् । अर्को फोटोमा उनी कामदारहरूसँग मिलेर सडक मर्मत गरिरहेका देखिन्छन् ।
यसरी सामाजिक सञ्जालमा फोटो राख्दा मान्छेले उनलाई लोकरञ्जनवादी भनिदिने जोखिमलाई पाहोर स्वीकार्छन् ।
‘म त्यो जोखिम स्वीकार्छु । तर नकारात्मक तथा सकारात्मक लोकरञ्जनवादमा फरक छ,’ उनले भने ।
पाहोरको रेटिङ हेर्दा पनि उनका इन्स्टाग्राम गतिविधिले खासै हानि गरेको देखिँदैन । एक ताजा सर्वेक्षणमा ५२ प्रतिशत स्लोभेनियालीहरूले उनीप्रति सकारात्मक विचार राखेको पाइयो भने जम्मा १६ प्रतिशतले नकारात्मक दृष्टिकोण राखे ।
पाहोरले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ताको बन्दोबस्त मिलाउने प्रस्ताव गरेका छन् ।
स्लोभेनिया युरोपेली संघको सदस्य हो र उसले रुसमाथिको संघको प्रतिबन्धलाई समर्थन गरेको छ । तर स्लोभेनियाले रुससँग परम्परागत जातीय सम्बन्ध कायम राखेको छ । त्यसले गर्दा पनि पाहोर पूर्व र पश्चिमका बीच मध्यस्थताको भूमिकामा फिट देखिन्छन् ।
युएसए टुडेबाट