
काठमाडौं — उत्तर कोरियाका नेता किम जोङ–उन अचानक चारदिवसीय भ्रमणका लागि चीन पुगेका छन् । उत्तर कोरियाली सञ्चारमाध्यमले मंगलवार यसको खबर दिए ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँगको सम्भावित शिखर सम्मेलनअघि किमलाई चीनले आफ्नो दृष्टिकोण बताउने कोशिश गरेको हुनसक्छ ।
उत्तर कोरियाली समाचार संस्था (केसीएनए) ले किम सोमवार दिउँसो आफ्नी पत्नी री सोल–जू र शीर्ष अधिकारीहरूका साथ चीन गएको जनायो । चीनका राष्ट्रपति शी चिनफिङको निमन्त्रणमा किम चीन गएका हुन् ।
दक्षिण कोरियाली सञ्चारमाध्यमले सोमवार शीसँग वार्ताका लागि किम एक विशेष रेल चढेर बेइजिङ गएको खबर दिएपछि केसीएनएले त्यसको पुष्टि गरेको हो ।
रिपोर्टअनुसार, विशेष ट्रेन स्थानीय समयअनुसार मंगलवार बिहान १० बजे बेइजिङ पुगेका छन् । किमले अघिल्लो वर्ष चीनतर्फको यात्रामा विशेष सुरक्षित ट्रेन प्रयोग गरेका थिए ।
ट्रम्प र किमबीच दोस्रो शिखर वार्ताका लागि अमेरिका र उत्तर कोरियाका अधिकारीहरूले भियतनाममा भेटघाट गरेका थिए । किम अघिल्लो वर्ष तीनचोटि चीन भ्रमणमा गएका थिए ।
मंगलवार किम जोङ–उनको जन्मदिन पनि परेको छ ।
एजेन्सी