
काठमाडौं – विश्वासिलो, आधुनिक र सहज बैंकिङ सेवा प्रदान गरेर आम जनमानसको मन जित्न सफल भएको दाबी गर्दै आएको एनआईसी एशिया बैंक लिमिटेडले पुनः अर्को गरिमामय प्रमाणपत्र पाउन सफल भएको छ ।
बैंकले पछिल्लो पटक ‘अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ः २०१५’ पाउन सफल भएको छ । यस्तो अवार्ड युनाइटेड रजिस्टर्ड अफ सिस्टम (यूआरएस) यूकेएएस–यूकेले प्रदान गर्ने गर्दछ ।
पछिल्लो समय बैंकले विभिन्न ग्राहकमुखी योजना, आफ्नो सबल चुस्त व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन साथै प्रणालीगत व्यवस्थापकीय क्षमतामा आधारित सेवा आदिमा राम्रो सुधार गर्दै उत्कृष्ट सेवा दिन सफल भएकाले नै अन्तर्राष्ट्रियस्तरको प्रमाणपत्र पाउन बैंक सफल भएको छ ।
बैंक शाखा सञ्जाल, ग्राहक संख्या, वासलातको आकार आदिको हिसाबमा पनि अग्रणी बैंक बन्न सफल भइसकेको छ । हाल बैंकले २७० शाखा कार्यालय, २८९ एटीएम काउण्टर, ३७ वटा एक्सटेन्सन काउण्टर एंव २२ वटा शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय एंव आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
हाल बैंकको वासलातको आकार रू. २१५ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४६ अर्ब पुगिसकेको छ ।
हालसम्म ग्राहक संख्या करिब १४ लाख पु¥याउन सफल भइसकेको यस बैंकले सरकारको नीतिअनुरूप नेपालका दूरदराजमा समेत शाखा कार्यालय स्थापना गरेर ग्रामीण क्षेत्रका जनतालाई पनि बैंकिङ पहुँचमा ल्याउन अभियान नै चलाएको छ ।