२७ जेठ २०८३, बुधबार

ऋण काढेर सडक निर्माण

कात्तिक २०, २०७४
ऋण काढेर सडक निर्माण
फलेवास, पर्वत, २६ फागुन –जिल्लामा भित्रिने सरकारी बजेटको सबैभन्दा ठूलो हिस्सा सडकमै खर्चिने गरेपनि यहाँको एक विकट गाउँका बासिन्दाले १८ लाख रुपैयाँ ऋण र चन्दा खोजेर गाउँसम्म सडक पु-याएका छन् ।

उत्तरी पर्वतको बाँसखर्क–९ मालगाउँका बासिन्दाले चर्को ब्याजदरमा ऋण काँढेर सडक निर्माण गर्न बाध्य भएका हुन् । उनीहररूले लेकफाँटको लोप्रे सिमल्टेचौरदेखि मालगाउँसम्म जोड्ने सडक निर्माण गरेका हुन् ।

२०६६ मा चिनाखेतदेखि सुरु भएको सडकको ट्र्याक खोल्ने कार्यले बुधबार पूर्णता पाएको हो । सात किमी दूरीको यो सडक निर्माण सात वर्षमा पूरा भएको हो । सरकारी निकाय र स्थानीयवासीको ४२ लाख रुपैयाँको लागतमा सडक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष समबहादुर तिलिजाले जानकारी दिए ।

जिविस पर्वत, बाँसखर्क गाविस, सडक, बोर्ड, सांसद विकास कोष र निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट २४ लाख रुपैयाँ अनुदान प्राप्त भएको थियो भने सडक निर्माण गर्न स्थानीय बासिन्दाले १८ लाख रुपैयाँ ऋण र चन्दा सङ्कलन गरेका थिए । स्थानीय बासिन्दा, सहकारी सङ्घसंस्था, आमा समूहलगायतबाट उक्त ऋण लिइएको हो । यो सडक छिमेकी जिल्ला म्याग्दीको बेनीदेखि मल्लाज–बगरफाँट–बाँसखर्क हुँदै लोप्रे पुग्न छोटो दूरीको हुने अध्यक्ष तिलिजाले बताए ।

यो सडकबाट उत्तरी पर्वतका बाँसखर्क, मालगाउँ, लोप्रे, डाँडाकटेरी, कुवापानी र म्याग्दीका राम्चे, काफलडाँडा र नांगीका बासिन्दा लाभान्वित भएका छन् । उक्त क्षेत्रका बासिन्दालाई म्याग्दीको बेनी पुग्न सजिलो हुने जनाइएको छ । लोप्रेदेखि बेनीसम्म साढे एक घन्टामै आउन सकिने अध्यक्ष तिलिजाले जानकारी दिए ।

यसअघि लेकफाँटदेखि मिलनचोक हुँदै बेनी आउन कम्तीमा तीन घन्टा गाडीमा यात्रा गर्नुपर्दथ्यो । जोखिममुक्त छोटो बाटो बनेपछि गाडी चढ्नका लागि महँगोमा जिप रिजर्भ गर्नुपर्ने मालगाउँका बासिन्दाको बाध्यतासमेत हटेको स्थानीयवासीले बताएका छन् । लामो सङ्घर्ष र ऋण धन गरेरै भए पनि गाउँसम्म सडक सुविधा पुगेपछि मालगाउँका बासिन्दा हर्षित बनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्