
काठमाडौं— सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित तेम्बाथानका ५५ वर्षीय दावा शेर्पालाई मुटुको समस्या देखिएपछि घरमा रुवाबासी चल्यो । काम गरिरहेका बेला उनी अकस्मात लडेका थिए । बेहोस भएका उनलाई उपचारका लागि कहाँ लाने भन्दै परिवार चिन्तित भए ।
नजिक स्वास्थ्यचौकी थिएन । पुग्नै दुई दिन लाग्छ । जानैपरे पनि भीरको बाटो । तत्काल बोकेर लाने अवस्था थिएन । परिवारले आफन्तको सहयोगमा हेलिकप्टर झिकाए । बिरामी भएकै दिन अस्पताल पु¥याउन कठिनाइ भयो । भोलिपल्ट मात्र दावाले अस्पताल देख्न पाए ।
हेलिकप्टरबाट त्रिभुवन विमानस्थलमा बिरामी उतारेर मेडिकल कलेज जोरपाटी पु¥याइयो । त्यहाँ उपचार हुन नसकेपछि ओम अस्पताल चाबहिल लगियो । झन्डै एक महिना अस्पताल राखेपछि उनी ठीक भए । परिवारले ऋण गररे हेलिकप्टरको १ लाख ३० हजार रुपैयाँ बुझाए ।
‘उपचार खर्च मात्र ४ लाख लाग्यो,’ श्रीमती सेडोमाले भनिन्, ‘हेलिकप्टर चढ्दा लिएको ऋण अझै तिर्न सकेको छैन ।’ हेलिकप्टरमा बिरामी लाँदाको ऋण १ लाख छ । वर्षको ३० हजार ब्याज बुझाउने गरेको उनले सुनाइन् । आम्दानीको स्रोत केही छैन । बारीको उत्पादनले खान पुग्दैन । चामल किनेर खानुको विकल्प छैन । परिवार ५ जनाको छ ।
‘ऋण कसरी तिर्ने भन्ने पीरले सताएको छ,’ उनले भनिन्, ‘उपचार गर्दा लागेको ऋण तिर्दातिर्दै मानसिक रोगी भइएला जस्तो छ ।’ यो समस्या उनको मात्र होइन । गाउँमा १ सय ६० घरधुरी छ । बाक्लो बसोबास शेर्पा समुदायको छ । नजिक स्वास्थ्यचौकी नहुँदा सुत्केरी ब्यथा लाग्दासमेत हेलिकप्टर खोज्नुपर्ने बाध्यता गाउँलेसामु छ ।
उता निमाटोलकी ६३ वर्षीया छिरी शेर्पा २०७२ माघमा टाउको दुखेर थला परिन् । बाटो अप्ठ्यारो भएकैले बोकेर स्वास्थ्यचौकीसम्म लाने आँट गाउँलेले गरेनन् । छिरीलाई पनि परिवारले ऋण गररे हेलिकप्टरमा उपचारका लागि काठमाडौं लगे । त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचार भयो ।
एक महिनासम्म अस्पताल बसेर गाउँ फर्किए पनि रोग ठीक नभएको उनले दुःखेसो पोखिन् । ‘सबै गररे उपचार खर्च मात्र ५ लाख लाग्यो,’ उनले बिलौना गर्दै भनिन्, ‘अहिलेसम्म तिर्न सकेको छैन ।’ अहिले ब्याज तिर्दै बसेको उनले सुनाइन् । ब्याज तिर्न पनि ऋण लिनुपर्ने बाध्यता छ । हेलिकप्टरमा मात्र १ लाख २० हजार खर्च लाग्यो ।
हेलिकप्टर चढदा लागेको ऋण मात्र तिर्न १ लाख छ । अहिले परिवारलाई कताबाट खर्च जुटाएर ऋण तिर्ने भन्ने पिरलो छ ।, कान्तिपुरमा खबर छ ।
'सरकारले हस्तक्षेपकारी भूमिका खेल्यो'
नेपाली कांग्रेसका शीर्ष नेताहरुले सरकारले सबै क्षेत्रमा हस्तक्षेपकारी भूमिका खेलिरहेको आरोप लगाएका छन् । पोखरामा शनिबार भएको कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले कर्मचारी, प्रहरीलगायत सबै क्षेत्रमा हस्तक्षेप र नियन्त्रण गरिरहेको आरोप लगाए ।
सरकारले शिक्षा, निजामती ऐनलगायतका माध्यमबाट कर्मचारी, प्रहरी, सेनालगायतलाई समेत पार्टीका प्रति प्रतिबद्ध बनाउँदै हस्तक्षेप र नियन्त्रण गरिरहेको उनको भनाइ छ । कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले काम गर्ने अवसरको सदुपयोग गर्न नसकेको आरोप लगाए । नेता पौडेलले सरकारले देशलाई विकासको बाटोमा लान नसकेको र विकासका काम अहिले अलपत्र परेको बताए ।
डान्सबार कुटपिट काण्डका दुई पक्राउ
काठमाडौँको ठमेलस्थित डान्सबारमा भएको कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ललितपुर सातदोबाटो घर भएका ४३ वर्षीय दिलगुरुङ र सुनाकोठी बस्ने ३२ वर्षीय निराजन महर्जनलाई प्रहरीले काठमाडौँ महानगरपालिका–१६ ठमेलबाट पक्राउ गरेको हो ।
ठमेलस्थित चाहाना डान्सबारभित्र उनीहरुले तारकेश्वर नगरपालिका–६ गोलढुङ्गा बस्ने ३५ वर्षीय मोहन पुरुवाल र काठमाडौँ मनमैजु बस्ने सिन्धुपाल्चोकका २८ वर्षीय रामकृष्ण भण्डारीलाई कुटपिट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
।
डा. केसीको समर्थन र विरोधमा प्रदर्शन
अनशनरत डाक्टर गोविन्द केसीको समर्थन र विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन भएको छ । पक्ष र विपक्षमा भइरहेको प्रदर्शन जुहारी जस्तै बनेको छ । सोलाडारिटी फर डाक्टर गोविन्द केसी एलायन्सको अगुवाईमा दिउँसो माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन भएको हो । केसीको विरोधमा अनसन बसेका युवा विजय थापाको समर्थकले पनि महाराजगन्जमा प्रदर्शन गरे ।
कांग्रेसका पूर्वसांसद नेकपा प्रवेश
नेपाली काँग्रेसका पूर्वसांसद तीर्थराज भुसाल कांग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । नेकपाको पार्टी कार्यालय धूम्रवाराहीमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेका चितवन जिल्लाका पूर्वसभापतिसमेत रहनुभएका भुसाललाई स्वागत गरे ।
भुसाल २०४९ सालमा नेपाली काँग्रेसको चितवन जिल्ला सभापति थिए । त्यस्तै २०५० सालमा राष्ट्रिय सुकुम्बासी आयोगका अध्यक्ष र २०५१ सालको आम निर्वाचनमा चितवनबाट निर्वाचित भएका थिए । नेकपा प्रवेश गर्दै भुसालले मुलुकलाई समृद्ध बनाउन नेकपा र नेकपा नेतृत्वको सरकार सक्षम रहेको बताए ।
पत्रकार ढकालका हत्या आरोपी पक्राउ
पत्रकार मनोहर ढकालको हत्या आरोपमा पक्राउ गरी प्रहरीले दुई जनालाई शनिबार सार्वजनिक गरेको छ । पक्राउपर्नेमा हेटाँैडा–११ नवलपुरका १९ वर्षीय अनमोल पुडासैनी र मनहरी–१ का प्रवीण वाइबा रहेका छन् । आरोपीद्वयले पत्रकार ढकालको घाँटी थिचेर तथा मुक्का र ढुङ्गा प्रहार गरी हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ ।
माथिल्लो तामाकोशी उत्कृष्ट दशमा
नेपाल स्टक एक्सचेञ्चमा कारोवार शुरु भएको एक सातामा नै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बजार पूँजीकरण रु ३२ अर्ब ९३ करोड ४९ लाख बराबरको हुन पुगेको छ । नेपाल स्टक एक्सचेञ्जले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार दोस्रो बजारमा कारोवार शुरु भएको एक सातामै उत्कृष्ट १० कम्पनीको सूचीमा सो जलविद्युत् कम्पनी पर्न सफल भएको हो ।
गत पुस २९ गतेदेखि दोस्रो बजारमा सो कम्पनीको शेयर कारोवार शुरु भएको हो । कम्पनीले १० करोड ५९ लाख कित्ता शेयर सूचीकरण गरेको छ । हरेक दिन करीब १० प्रतिशतका दरले शेयरको मूल्य बढेको कम्पनी एक सातामै बजार पूँजीकरणमा समेत शीर्ष दशमा पर्न सफल भएको हो ।
स्टकका अनुसार यही पुस ३ गते बिहीबार माथिल्लो तामाकोशीको शेयर दोस्रो बजारमा प्रतिकित्ता रु ३११ मा खरीद बिक्री भएको छ । तर सो कम्पनीको शेयर खरीद गर्न चाहनेको सङ्ख्या बढी भए पनि बिक्री गर्न चाहने भने असाध्यै न्यून रहेका छन् । स्टकका अनुसार साताभर सो कम्पनीको मात्रै ११६ कित्ता शेयर कारोवार भएको छ ।
राजपा अध्यक्ष मण्डलको संयोजकमा यादव
राष्ट्रिय जनता पार्टी नेपालले अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महेन्द्रराय यादवलाई दिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा शनिबार बसेको बैठकले चक्रीय प्रणालीअनुसार यही माघ ६ गतेदेखि अध्यक्ष मण्डलका सदस्य यादवलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले जानकारी दिए ।
बैठकले शहीद परिवारलाई सहयोग गर्न शहीदको सम्मानस्वरुप बलिदानी दिवसका अवसर पारेर ‘शहीद कल्याण कोष’ स्थापना गर्ने निर्णय गरेको छ । त्यसैगरी यही माघ १६ गते केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा जिल्ला सदरमुकाममा सदस्यता अभियानको समीक्षा बैठक गर्ने निर्णयसमेत गरेको छ ।
नेपाल उपविजेतामै सीमित
नेपाललाई ७० रनले पराजित गर्दै आयोजक थाइल्याण्डले थाइल्याण्ड टि–२० स्म्यास क्रिकेटको उपाधि जित्न सफल भएको छ । टेर्ड थाई मैदानमा शनिबार भएको फाइनल खेलमा १२२ रनको विजयी लक्ष्य पच््छयाउने क्रममा नेपालले ५१ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो ।
नेपालको शुरुवात राम्रो हुन सकेन । ओपनर काजल श्रेष्ठ रन आउट हुँदै पहिलो ओभरमा एक रन बनाएर आउट भइन् भने लगत्तै दोस्रो ओभरमा इन्दु बर्मा खाता नखोल्दै एलबिडब्लु आउट भइन् । पाँचौ ओभरमा प्रतियोगितामा उत्कृष्ट लयमा रहेकी सीता राना मगरले १३ तथा नेरी थापाले १७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
त्यस्तै रोमा थापा दुई, सरिता मगर पाँच तथा कप्तान रुबिना क्षेत्री पाँच करुना भण्डारी चार रन र डली भट्ट, कविता कुँवर खाता नखोली आउट हुँदा नेपाल १७.२ ओभरमा ५१ रनमा समेटिन पुग्यो ।
यअघि टस हारेर पहिलो ब्याटिङ गरेको थाइल्याण्डले नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । घरेलु टोलीले निर्धारित २० ओभरमा एक विकेट गुमाएर १२१ रन बनाएको थियो ।
अन्तर्राष्ट्रिय सहभागिताको १२ वर्षमा दोस्रो पटक उपाधि नजिक पुगेको नेपालको उपाधि जित्ने सपना यस पटक पनि पुरा हुन सकेन । यसअघि सन् २००७ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता एसिसी वुमेन्स च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग फाइनलमा पराजित भएको थियो ।