
हुम्ला- जिल्लाको सदरमुकाम सिमकोट बजारलाई शहरी विकास मन्त्रालय आयोजनाले सडक विस्तार गर्ने भएको छ । शनिबार सिमकोट गाउँपालिका जनप्रतिनिधि, स्थानीय र सङ्घीय योजना प्रमुख, शहरी विकास मन्त्रालयका पदाधिकारीबीच भएको अन्तरक्रिया कार्यक्रममा विगतका योजनाभन्दा फरक तरिकाले कार्य अगाडि बढाउने निर्णय भएको छ ।
सिमकोट गाउँपालिकाले सडक विस्तारको लागि आफूहरुलाई प्रतिवेदन पेश चाँडो पेस गरेमा लामो समयसम्म टिकाउ हुने गरी कार्यक्रम सञ्चालन गरिने शहरी विकास मन्त्रालयका पदमकुमार मैनालीले बताउनुभयो । सिमकोट बजारमा सडक विस्तार गर्दा के कस्ता पहल गर्न सकिन्छ र सडक विस्तारमा लाग्ने खर्चलगायतका विषयमा छलफल भएको उहाँले बताउनुभयो ।
सिमकोट गाउँपालिकाले विस्तार गर्दै आएका सडकको कामलाई प्राथमिकता दिनुका साथै सिमकोट गाउँपालिकाअन्तर्गत आठै वडालाई सडक विस्तारमा पहिलो प्राथामिकता दिने गाउँपालिका उपाध्यक्ष वली रावतले बताउनुभयो । उपाध्यक्ष रावतका अनुसार अबका योजना परिणममुखी हुने र जनताले गुनासो गर्न पाउने मौका नहुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बाक्लो बस्ती भएको ठाउँमा सडक निर्माण गर्दै जाने, सिमकोटवासीमा परिवर्तन आउने गरी काम गर्नुको साथै सडक विस्तारमा लाग्ने खर्च सबै शहरी विकास मन्त्रालयले व्यहोर्ने कार्यक्रम रहेको सोही मन्त्रालयका कृष्णप्रसाद दबाडीले बताउनुभयो ।
शहरी विकास मन्त्रालयले जिल्लाका सात गाउँपालिकामध्ये सिमकोट गाउँपालिकालाई सडक विस्तारका लागि पहिलो प्रथामिकतामा राखिएको छ । शहरी विकास मन्त्रालयले सडक निर्माण, ढल निर्माण गर्न लागेको योजनालाई सही सदुपयोग गर्नुका साथै नमूना गाउँपालिका बनाउने सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताउनुभयो ।