
काठमाडौं – अमेरिकामा शटडाउनका कारण लाखौं सरकारी कर्मचारीहरू समस्यामा परेका छन् ।
शटडाउनका कारण अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुश पनि पिज्जा डेलिभरी बोय बनेका छन् । बुशले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक तस्वीर शेयर गरेर पिज्जा डेलिभरी गरिरहेको देखाएका छन् ।
शुक्रवार शेयर गरिएको तस्वीरमा उनले लेखे, ‘लाउरा बुश र म सिक्रेट सर्भिस समेत हजारौं संघीय कर्मचारीप्रति आभारी छौं । यी मानिस तलबविना नै काम गरिरहेका छन् । कर्मचारीहरूलाई समर्थन गर्नेलाई पनि हामी धन्यवाद दिन्छौं ।’
खासमा अमेरिकी सरकार विगत २७ दिनदेखि शटडाउन (कामकाज ठप्प) को स्थितिमा छ । देशको इतिहासको यो सबभन्दा लामो शटडाउन हो ।
राष्ट्रपति डोनल्ड ट्रम्पले बजेटमा हस्ताक्षर नगर्दा आठ लाखभन्दा बढी कर्मचारी बेतलबी बिदामा छन् । ट्रम्प मेक्सिकोसँगको सीमामा पर्खाल ठड्याउनका लागि संसद्सँग फन्डको माग गरिरहेका छन् ।
तर विपक्षी डेमोक्रेट पार्टीले उनको माग मानिरहेको छैन । त्यसैले गर्दा अनेकौं विभागमा डिसेम्बर २२ देखि नै आंशिक रूपमा कामकाज ठप्प छ ।
कर्मचारीहरूलाई बुशले खानपिनको व्यवस्थापन गरे । उनले कर्मचारीहरूको गतिरोध अन्त्यका लागि अधिकारीहरूसँग कुराकानी पनि गरे । उनले भने, ‘यतिखेर दुवै पक्षका नेताहरूले राजनीति छोडेर एक साथ आउनुपर्छ र शटडाउन अन्त्य गर्नुपर्छ ।’
बुशका प्रवक्ता फ्रेडी फोर्डले बुश कर्मचारीहरूको पक्षमा रहेको बताए । सिक्रेट सर्भिस एजेन्टका लागि पिज्जा किन्नु सानो सहयोग मात्र भएको उनको भनाइ छ । कतिवटा पिज्जा किनियो भन्ने विषयमा जानकारी दिइएको छैन ।
एजेन्सी