
कैलाली–नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेकपाले प्रधानन्यायधीशलाई तर्साएर न्यायलयमाथि कब्जा जमाउन खोजेको आरोप लगाएका छन् ।
नियुक्तिका लागि सिफारिस भएकै दिन नेकपाका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग पनि लाग्न सक्छ भनेर मनोवैज्ञानिक त्रासमा राख्न खोजेको उनले आरोप लगाए । प्रधानमन्त्री केपी ओली सत्ता र शक्तिको भोको भएको पनि उनले बताए ।
नेपाली कांग्रेस कैलाली क्षेत्र नं २को सम्मेलनलाई लम्कीमा सम्बोधन गर्दै डा कोइरालाले गएका निर्वाचनहरुमा योगदानको मूल्यांकन आधारमा टिकट बितरण गर्न नसकेकोमा आफूलाई क्षमा गर्न पनि आग्रहगरे ।
उनले भने, ‘पार्टी गिरोहबाट संचालन भैरहेको छ।मूल्यांकनको कुनै मापदण्ड छैन। १४ औं महाधिवेशनपछि कुनै कार्यकर्ताले अन्याय भोग्न पर्दैन।’
गिरोहमुक्त बनाएर उत्कृष्ट दल बनाउन आफूले कुनै कसर बॉकी नराख्ने प्रतिबद्धता जनाउँदै डा कोइरालाले त्यसका लागि आफूलाई सात नम्बर प्रदेशका कार्यकर्ताको साथ र समर्थनको खॉचो रहेको पनि बताए ।
कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले अहिलेको नेतृत्वबाट पार्टी रुपान्तरणको कूनै सम्भावना नरहेको बताए ।
अर्का केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टी भित्रका अन्याय,अत्याचार र गुटका बिरुद्ध एक हुन कार्यकर्ताहरुलाई आग्रह गरे ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य दीपक गिरी र प्रदेससभा सदस्य डा रणबहादुर रावलले सरकार नियम कानुन लत्याउॅदै अराजकताको बाटोमा लागेको बताए ।
युवा नेताहरुलाई लिएर २ दिने पूर्वी कैलाली भ्रमणमा निस्केका कोईरालाले जोशीपुर, टिकापूर र पहलमानपूरमा भएको अगूवा कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए।