काठमाडौँ, २७ फागुन - प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनः विस्तार गरेका छन् । प्रधानमन्त्री दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट उपप्रधानसहित दुई मन्त्री र एक राज्यमन्त्री थप गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

प्रधानमन्त्रीले राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्रीमा नियुक्त गरेका छन् । राप्रपाकै प्रमुख सचेतक दिलनाथ गिरीलाई संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको छ । आजको राजधानीमा खबर छ ।
सरकारले संविधान संशोधनमा दुई तिहाइ पु-याउने उद्देश्यले मन्त्रिपरिषद् विस्तार गरेको हो । यता, सरकारभन्दा बाहिर रहेको विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई पनि सरकारमा सहभागी गराउने तयारी भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
‘छलफल भइरहेको छ, उहाँहरू पनि चाँडै सरकारमा सहभागी हुनुहुनेछ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो । प्रधानमन्त्री पुष्पकमल दाहालले यसअघि नै गच्छदारलाई सरकारमा सहभागी गराउने खोजेको प्रयास उपप्रधानमन्त्रीको वरीयता क्रममा विवाद देखिएपछि असफल बनेको थियो ।
गच्छदारले उपप्रधानमन्त्रीसहित भौतिक मन्त्रालय वा सञ्चार मन्त्रालयमध्ये एकमा चासो देखाएका छन् । तर, उपप्रधानमन्त्रीमा भने दोस्रो वरीयता हुनुपर्ने गच्छदारको अडान छ ।