काठमाडौं, २७ फागुन-निर्वाचन आयोगले आगामी १० चैतभित्रै स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र निर्धारण गरिसक्ने भएको छ । आयोगले मतदान केन्द्र निर्धारण आगामी १० चैतसम्म सक्ने गरी काम अघि बढाउन जिल्ला निर्वाचन कार्यालयलाई निर्देशनसमेत दिइसकेको खबर आजको
राजधानीमा खबर छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले सरकारबाट प्राप्त नयाँ संरचनाको प्रतिवेदनअनुसार मतदान केन्द्र निर्धारण गर्न जिल्ला निर्वाचन कार्यालयहरूलाई निर्देशन दिइसकिएको बताए । ‘हामीले सरकारबाट प्राप्त स्थानीय तहको प्रतिवेदनको पत्रअनुसार जिल्ला निर्वाचन कार्यालयहरूलाई काम अघि बढाउन भनिसकेका छौं,’ प्रवक्ता शर्माले भने, ‘१० चैतभित्रै केन्द्र निर्धारण हुनेछ ।’ सरकारले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन मंगलबार साँझ आयोगलाई उपलब्ध गराएको थियो । प्रतिवेदनअनुसार परिवर्तित नयाँ संरचनाबमोजिम मतदाताको ठेगानासमेत परिवर्तन गर्नुपर्ने भएकाले सोहीअनुसार मिलाउने काम पनि सुरु गरिएको आयोगका प्रवक्ता शर्माले बताए । उनका अनुसार २० चैतभित्र आयोगले सो विषयमा समेत टुंगो लगाइसक्ने तयारी गरेको छ ।