काठमाडौं — मणिकर्णिका फिल्ममार्फत कंगना रनावतले फिल्मी पर्दामा झाँसीकी रानी लक्ष्मीबाईको भूमिका त निर्वाह गरिन् नै, वास्तविक जीवनमा पनि उनी लक्ष्मीबाई जस्तै निडर छिन् ।
अनेकौं विवाद आएपनि कंगनाले फिल्म पूरा गर्नका लागि जस्तो लगन देखाइन्, रानी लक्ष्मीबाईले पनि अंग्रेजहरूबाट स्वतन्त्रता पाउनका लागि त्यस्तै लगन देखाएकी थिइन् ।
मणिकर्णिका फिल्म अमिताभ बच्चनको भोइसओभरबाट शुरू हुन्छ । सन् १८२८ को दशकमा मनु अर्थात् मणिकर्णिकाको हिरोइक एन्ट्री हुन्छ जहाँ उनले अचुक वाण हानेर खतरनाक सिंहलाई बेहोश बनाइदिन्छिन् ।
बिठूरमा जन्मिएकी पेशवा (सुरेश ओबराय) की दत्तक छोरी लक्ष्मीबाईलाई शौर्य, साहस र सुन्दरता जन्मजात प्राप्त भएको थियो । त्यसैले राजगुरु (कुलभूषण खरबन्दा) को नजर उनमा पर्छ र त्यही विशेषताका कारण उनी झाँसीका राजा गंगाधर राव नावलकरकी रानी बन्छिन् । इतिहास रानी लक्ष्मीबाईद्वारा अंग्रेजसँग लडिएको शौर्यगाथाले रंगिएको छ ।
फिल्मको कथाले पनि त्यही शौर्यगाथा दर्शाएको छ । अनि गौस बाबा (डेनी डेंग्जोम्पा) को स्वामीभक्ति, झलकरीबाईको साहस, तात्या टोपे (अतुल कुलकर्णी) को अदम्य साथ र बहादुर जस्ता रमाइला प्रसंग पनि फिल्ममा आउँछन् ।
झाँसीकी रानीले अंग्रेजका अगाडि शिर झुकाउन चाहँदिनथिइन् । झाँसीलाई भविष्यको राजा दिन पाउँदा उनी खुशी छन् किनकि उसको अधिकारलाई अंग्रेजहरूले षड्यन्त्रपूर्वक हडप्न सक्दैनथिए । तर धोकेबाज सदाशिव (मोहम्मद जीशान अयूब) षड्यन्त्र रचेर लक्ष्मीबाईको छोराको हत्या गर्छन् अनि अंग्रेजहरूको सहायताले गद्दी हत्याउँछन् ।
फिल्मको कथा पूरै झाँसीको रानीमा केन्द्रित छ ।
सन् १८५७ को राष्ट्रिय आन्दोलनलाई गहिराइका साथ देखाइएको छैन । अंग्रेजहरूका हरेक प्रयासलाई असफल बनाउँदै लक्ष्मीबाई ग्वालियर पुग्दा स्वतन्त्रताको बिगुल भारतभरि बजिसकेको हुन्छ । क्लाइमेक्समा सर ह्युरोजको सेनासँग लक्ष्मीबाईको युद्ध र वीरतापूर्ण प्राण आहुतिको तरिकाले रौं ठाडो बनाइदिन्छ ।
निर्देशनको कुरा गर्नुपर्दा राधाकृष्ण जगरलामुदीसँगै कंगनाले पनि निर्देशन गरिन् । निर्देशनको जिम्मेवारी उनले राम्ररी सम्हालेकी छन् ।
इन्टरभलसम्म फिल्म सुस्त गतिमा अघि बढ्छ । फरक फरक पात्रलाई स्थापित गर्ने कोशिशमा फिल्म तन्किएको छ । सेकेन्ड हाफमा स्वतन्त्रता संग्रामको बिगुल बजेपछि फिल्मको एक्सन, मोडहरू र रणभूमिका दृश्यहरूले माहोललाई रोमाञ्चक बनाइदिन्छन् ।
निर्देशकका रूपमा भारतको गणतन्त्र दिवसको अवसरमा देशभक्ति जगाउन सफल भएकी छन् । फिल्ममा अंग्रेज सरकार र कम्पनीको पक्षलाई सशक्त बनाउन सकिन्थ्यो ।
फिल्ममा स्पेसल इफेक्टहरू थप राम्रो प्रयोग भएको भए रोमाञ्च झनै बढ्थ्यो । कंगनाको दृष्टिमा सुन्दरता र बहादुरी झल्किन्छ । अनेकौं दृश्य र संवादले ताली बजाउन प्रेरित गर्छन् । प्रसून जोशीका संवादले जोश जगाउँछन् ।
पर्दामा कंगनाको सशक्त अभिनय देख्दा लक्ष्मीबाईको भूमिका उनका लागि पर्फेक्ट लाग्छ । उनले निर्देशन र अभिनय दुवैमा खरो उत्रेकी छन् । उनको सर्वोत्कृष्ट प्रदर्शनमध्ये एक हो यो । उनले लक्ष्मीबाईको हाउभाउ, डायलग डेलिभरी र एक्सन दृश्यमा कडा मेहनत गरेकी छन् ।
झलकारीबाईका रूपमा अंकिता लोखण्डेको प्रभावशाली अभिनय देख्न पाइन्छ । अन्य सबै कलाकारको पनि राम्रो भूमिका छ ।
शंकर एहसान लोयको संगीत शानदार छ ।
नवभारत टाइम्समा प्रकाशित रेखा खानको समीक्षा
फिल्म : मणिकर्णिका
कलाकार : कंगना रनावत, अतुल कुलकर्णी, जिस्सु सेनगुप्ता, सुरेश ओबरोय, अंकिता लोखण्डे, डेनी डेंग्जोम्पा
निर्देशक :कंगना रनावत
विधा : जीवनी
अवधि : २ घन्टा २८ मिनेट
रेटिङ : ३.५ ५