०१ असार २०८३, सोमबार

भेनेजुएलामा कू प्रयास : समाजवादी सरकार हटाउने अमेरिकी षड्यन्त्र

भेनेजुएलामा कू प्रयास : समाजवादी सरकार हटाउने अमेरिकी षड्यन्त्र

भेनेजुएलामा विगत केही दिनयता विकसित भएका नाटकीय घटनाक्रम अमेरिकाले समर्थन गरेको कूको प्रयास हो भन्ने कुरा स्पष्ट छ । वाशिङटन आफैंले त्यहाँ सैन्य हस्तक्षेपको अनुमति दिएको छ र यसले रुसविरुद्ध प्रच्छन्न (प्रोक्सी) युद्ध चर्काउने सम्भावना छ । 

यससँगै अमेरिकाले दक्षिण अमेरिकी मुलुकमा सत्ता परिवर्तनको माहोल बनाउन थालेकोमा अब कुनै शंका रहेन । 

यसै हप्ता अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले एउटा भिडियो सम्बोधन गर्दै भेनेजुएलाका जनतालाई निर्वाचित सरकारविरुद्ध सडक प्रदर्शन गर्न भड्काए । पेन्सले देशका सुरक्षा बललाई विरोध प्रदर्शनको समर्थन गर्न आग्रह गर्दै आफूहरू अर्थात् अमेरिकाको त्यसमा समर्थन रहने बताए ।

त्यसको भोलिपल्ट विपक्षी दलका नेता हुआन गुआइडोले राजधानी काराकासमा ठूलो जुलुस निकाले अनि आफैंलाई भेनेजुएलाको अन्तरिक राष्ट्रपति घोषणा गरे । राष्ट्रपति निकोलास मडुरोलाई उनले सत्ता हत्याएको व्यक्ति भन्दै आलोचना गरे । 

त्यसको केही मिनेटमै अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गुआइडोलाई भेनेजुएलाका वैध राष्ट्रपति मानेको बताए । ट्रम्पको यो घोषणालगत्तै क्यानडा र दक्षिण अमेरिकाका दक्षिणपन्थी सरकारहरूले पनि गुआइडोलाई मान्यता दिए । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले भेनेजुएलामा लोकतन्त्रको पुनर्बहालीलाई समर्थन गर्ने अनि आफ्नो स्वतन्त्रताका लागि जुलुस निकाल्ने लाखौं भेनेजुएलावासीको साहसलाई सलाम गरेको बताए । 

राष्ट्रपति मडुरोले अमेरिकासँग कूटनीतिक सम्बन्ध विच्छेद गरेको बताए र अमेरिकी कूटनीतिकर्मीहरूलाई ७२ घन्टाभित्र देश छोड्न आग्रह गरे । 

अनि कूको स्क्रिप्ट पछ्याउँदै अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओले मडुरो अब वैध राष्ट्रपति नरहेको त्यसैले उनीसँग वाशिङटनबाट कूटनीतिक सम्बन्ध विच्छेद गर्ने अधिकार नरहेको बताए । 

यसभन्दा पनि खतरनाक कुरा त ट्रम्प र पम्पिओले पहिलेपहिलेका अमेरिकी शासक झैं अमेरिकी कर्मचारी खतरामा परेमा सबै विकल्पहरू खुला रहेको धम्की दिए । त्यो ‘सैन्य कारवाही गर्छौं’ भनेको हो । 

यसको अर्थ हुन्छ, मडुरो सरकारले अमेरिकाका कूटनीतिक भवन र अधिकारीहरूलाई प्रतिबन्ध लगाउन पाउँदैनन् । कुनै पनि अमेरिकी कर्मचारीलाई देशनिकाला गर्नु भनेको उनीहरूको सुरक्षामाथि खतरा पु–याउनु हो र वाशिङटनको तर्कअनुसार यसले सैन्य कारवाही गर्न अमेरिकालाई अनुमति दिन्छ । 

भेनेजुएलामा आफ्ना स्वार्थको सुरक्षा गर्ने वाशिङटनको स्वघोषित अनुमति मडुरोविरोधी विपक्षी समूहसम्म पनि विस्तारित हुन्छ । विरोधकर्ताहरूमाथि हिंसा गरिएमा त्यसका लागि मडुरोलाई नै जिम्मेवार ठह–याउने ट्रम्पले चेतावनी दिए । 

यसरी काराकासका सडकमा थप हिंसा चर्काउनका लागि ट्रम्पले विपक्षीलाई भड्काएका छन् । 

भेनेजुएलाका सशस्त्र बलहरू अहिलेसम्म मडुरोप्रति बफादार छन् र उनीहरूमाथि अत्यधिक घातक बल प्रयोग गरेको आरोप छ । 

यो अवस्थालाई वाशिङटनले गृहयुद्धकै स्तरमा चर्काउन खोजेको देखिन्छ । 

भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिकाले गरेको हस्तक्षेपलाई रुसले निन्दा गरेको छ र राष्ट्रपति मडुरो नै वैध राष्ट्रप्रमुख रहेको बताएको छ । मस्कोले अमेरिकालाई सेना तैनाथ नगर्न चेतावनी दिएको छ र भेनेजुएला आफ्नो साझेदार भएको बताएको छ । 

दक्षिण अमेरिकी क्षेत्रका दक्षिणपन्थी सरकारहरू कोलम्बिया र नवनिर्वाचित ब्राजिली राष्ट्रपति जेर बोल्सोनारो अनि अर्जेन्टिना, चिली, पाराग्वे र पेरुले मडुरो प्रशासनलाई अवैध घोषणा गर्ने वाशिङटनको अडानलाई समर्थन गरेका छन् । 

रुसले अमेरिकाको हस्तक्षेपलाई निन्दा गरेकोमा चीन, बोलिभिया, क्युबा, टर्की र इरान तथा अन्य मुलुकले मडुरो सरकारलाई समर्थन गरेका छन् र सत्ता परिवर्तन गर्ने वाशिङटनको नीतिको आलोचना गरेका छन् । 

त्यसैले ट्रम्प प्रशासन भेनेजुएलामा अस्थिरता मच्चाउन मात्र खोजेको नभई अन्तर्राष्ट्रिय प्रोक्सी युद्धका लागि वातावरण समेत बनाउँदैछ । वाशिङटन र उसका साझेदारले सिरियामा यस्तै गरेका थिए । 

अमेरिकाले भेनेजुएलामा लामो समयदेखि युद्ध चर्काउन खोजेको थियो । प्रशस्त तेल भएको यो दक्षिण अमेरिकी मुलुकले २० वर्षअघिदेखि समाजवादी सरकार चलाउन थालेदेखि नै वाशिङटनको आँखाको कसिंगर बनेको हो । 

जर्ज डब्ल्यु बुश प्रशासनले सन् २००२ मा तत्कालीन राष्ट्रपति ह्युगो चाभेजविरुद्ध कू गराउने कोशिश गरेका भए पनि त्यो असफल रह्यो । अनि ओबामाले भेनेजुएलाको महत्त्वपूर्ण तेल उद्योगमाथि आर्थिक प्रतिबन्ध लगाएर अप्ठ्यारोमा पारे जसले गर्दा उक्त देशमा सामाजिक संकट र असन्तोष अहिले आएर बढेको हो । सडक प्रदर्शनका लहर चलेका छन् र यसलाई भड्काउनका लागि वाशिङटनले प्रमुख भूमिका खेलेको संकेत पाइन्छ । 

सन् २०१८ को अन्त्यमा ट्रम्प प्रशासनले मडुरो सरकारलाई राष्ट्रिय सुरक्षामाथि खतराका रूपमा चित्रित गरेर भेनेजुएलाविरुद्ध सैन्य कारवाही चलाउने संकेत दिएको थियो । मध्य अमेरिकाबाट अमेरिकातर्फ आप्रवासीहरू पठाउनका लागि काराकासले भड्काएको भनी ह्वाइट हाउसले दाबी समेत गरेको थियो । आप्रवासीहरूले अमेरिकामा अतिक्रमण गर्न लागेको भनी ट्रम्पले पालेको डरलाई आप्रवासीको लर्कोले झनै बढाएको छ । 

तर वाशिङटनले चालेको पछिल्लो कदमका पछाडिको मुख्य कारण भनेको काराकासले रुससँग गरेको खुला साझेदारी हो । अघिल्लो महिना राष्ट्रपति मडुरोलाई मस्कोमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आतिथ्य दिएका थिए र दुई देशले तेल उत्खनन, माइनिङ, कृषि तथा अन्य व्यापार सम्बन्धमा अर्बौं डलरको साझेदारीमा हस्ताक्षर गरेका छन् ।

मडुरोले क्रेमलिन भ्रमण गरेको केही दिनभित्र रणनीतिक साझेदारीलाई निर्णायक सैन्य आधार दिँदै दुईवटा रुसी टुपोलेभ टु–१६० आणविक क्षमता भएका बमवर्षकहरू १० हजार किलोमिटर टाढासम्म उडेर भेनेजुएला पुगे अनि मस्कोको समर्थन उसलाई रहेको देखाए । 

रुसी बमवर्षक विमान काराकासमा अवतरण गर्दा वाशिङटन लगभग बौलायो । 

मडुरोलाई सन् २०१८ को मे महिनामा ६७ प्रतिशत मतका साथ दोस्रोपटक निर्वाचित गरिएको थियो । हो, निर्वाचानमा जम्मा ४६ प्रतिशत मत खस्यो । आर्थिक संकट र अशान्तिका कारण धेरै मतदाता मत दिनै गएनन् । त्यो अशान्ति पनि वाशिङटनको नाकाबन्दीका कारण बढेको हो । 

तैपनि ९० लाखभन्दा बढी भेनेजुएलावासीले मडुरो र उनको समाजवादी नीतिमा मत दिएकै हुन् । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचन स्वतन्त्र र स्वच्छ रहेको प्रतिक्रिया दिएका थिए । भेनेजुएलाको राष्ट्रिय निर्वाचन आयोगले पनि मतदान स्वच्छ रहेको पुष्टि गरेको थियो । 

मडुरोको दोस्रो कार्यकाललाई स्वीकृति र रुससँगको महत्त्वपूर्ण साझेदारीपछि वाशिङटनले काराकासमा सत्ता परिवर्तनको प्रयासलाई नवीकरण गरेको हो । 

उपराष्ट्रपति माइक पेन्सले विपक्षी नेता हुआन गुआइडोसँग फोनवार्ता गरेको बताइएको छ । त्यसपछि पेन्सले मडुरोलाई सत्ताच्युत गर्नुपर्ने सार्वजनिक टिप्पणी गरेपछि कूको बाटो खोलियो । 

अब वाशिङटनले भेनेजुएलाको तेल कम्पनीको अमेरिकामा रहेको बैंकखाता रोकेर उसमाथिको आर्थिक नाकाबन्दीलाई चर्काउन सक्छ । अमेरिकाले जल नाकाबन्दी पनि गर्न सक्छ । अनि भेनेजुएलामा हिंसा चर्किएमा वाशिङटनले सैन्य हस्तक्षेप गर्न सक्छ जसको नजीर उसले पहिले नै बसालिसकेको छ । 

रुस र भेनेजुएलाका क्षेत्रीय साझेदारले कस्तो प्रतिक्रिया दिन्छन् भन्ने कुराले द्वन्द्वको स्थितिलाई निर्धारण गर्छ । 

ट्रम्प र म्याक्रों जस्ता पश्चिमी नेताहरूले असंवैधानिक रूपमा आफैंलाई राष्ट्रपति घोषणा गर्ने गुइआडोलाई समर्थन गर्नु आफैंमा ठूलो व्यंग्य हो । अमेरिका र फ्रान्सको आधी जनसंख्याले आआफ्ना नेतालाई घृणा गर्छन् । ट्रम्पलाई विपक्षी सांसदहरूले वार्षिक स्टेट अफ द युनियन सम्बोधन गर्न दिएका छैनन् र यस्तो भएको अमेरिकी इतिहासमा पहिलोपटक हो । उता म्याक्रोंविरुद्ध फ्रान्सभरि विरोध प्रदर्शन भइरहेका छन् र उनी जहाँ गएपनि प्रहरीको भारी सुरक्षा लिएरै हिँड्नुपर्ने स्थिति छ । 

ट्रम्प, ट्रुडो र विश्वास गुमाइसकेका अन्य पश्चिमी नेताहरूले भेनेजुएलामा कसको नेतृत्व हुनुपर्छ भनी घोषणा गर्ने कुनै अधिकार राख्दैनन् । 

आरटीमा प्रकाशित फिनियन कनिङघमको विश्लेषण
 

salt training

कमेन्ट गर्नुहोस्