१० असार २०८३, बुधबार

मुस्ताङमा नुन उत्पादन सम्भव रहेको अध्ययन समितिको निष्कर्ष

कात्तिक २०, २०७४
मुस्ताङमा नुन उत्पादन सम्भव रहेको अध्ययन समितिको निष्कर्ष
मुस्ताङ, २७ फागुन –लामो समयदेखि खेर गइरहेको मुस्ताङको छुसाङस्थित तेताङमा रहेको नुनखानीमा तत्काल नुन उत्पादन गर्न सकिने सम्भावना देखिएको छ ।

आपूर्ति मन्त्रालयका सहसचिव ईश्वरकुमार गिरी नेतृत्वको टोलीले फागुन दोस्रो साता गरेको स्थलगत अध्ययन र स्थानीयवासीसँगको साक्षात्कारपछि तत्काल नुन उत्पादन गर्न सकिने निष्कर्ष निकालेको हो ।

यही आशयका साथ टोलीले केही दिनमै सरकारलाई प्रतिवेदन बुझाउन लागेको सहसचिव गिरीले जानकारी दिए ।

टोलीमा गिरीसँगै मन्त्रालयका उपसचिवद्वय दिलकुमार शर्मा र लक्ष्मी बाँस्कोटा सहभागी थिए । नुनखानीको पहाडै देखिएपनि उत्पादन हुन नसक्दा त्यस क्षेत्रकै स्थानीयवासी आयातीत नुन उपभोग गर्न बाध्य छन् ।

२० वर्षअघि सम्म स्थानीय र साल्ट टे«डिङ कर्पोरेसनले ठेकेदारमार्फत उत्पादन गरेपनि अहिले त्यो पूर्णरुपमा बन्द छ ।

गत जेठ महिनामा तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डे नेतृत्वको उच्चस्तरीय प्राविधिक टोलीले नुनखानीको अध्ययन गर्दै उत्पादनका लागि आवश्यक प्रक्रिया बढाउन सरकारले प्रतिवेदन नै बुझाएको थियो ।

सडकमार्गको पहुँच र नुनखानी रहेको पहाडबाट बग्ने नुनिलो पानीलाई पाइपलाइनमार्फत सहज ठाउँमा ल्याएर उत्पादन गर्न सकिने देखिएको सहसचिव गिरीले जानकारी दिए ।

‘नुनिलो पानी निस्कने ठाउँमा भरपर्दो पाइप जडान गरेर केही तल सहज भएको ठाउँमा ल्याउन सकियो भने तत्कालै नुन बनाउन सकिन्छ’, उनले भने, ‘यसभन्दा अघि ठेकेदार स्थानीयवासीको खेत भाडामा लिएर केही संरचना पनि बनाएका रहेछन्, त्यसैलाई प्रयोग गर्न सकिन्छ ।’

नुनखानीबाट उत्पादित नुनमा आयोडिन कम हुने हल्ला गरेपनि त्यसको अहिलेसम्म आधिकारिक पुष्टि भइसकेको छैन ।

२० वर्षअघि सम्म मुस्ताङसहित म्याग्दीको उपल्लो भेगका सर्वसाधारणले त्यसैबाट उत्पादित नुन उपभोग गर्थे । तर बजारमा पोकाको आयोडिन नुनको माग बढ्दै गएपछि ठेकेदारले काम गर्न छाडेको स्थानीयवासी पेमा दोर्जे गुरुङले बताए ।

नुनको माग रहेको बेला तेताङका धेरैले रोजगारी समेत पाएका थिए । रोजगारीसँगै पैसा तिरेर महँगोमा नुन खान नपरे आफूहरुलाई ठीक हुने स्थानीयवासीको माग छ ।

salt training

कमेन्ट गर्नुहोस्