
डोल्पा– हिमपातका कारण अवरुद्ध डोल्पाको जुफाल विमानस्थल तीन दिनपछि खुलेको छ । लगातारको हिमपात र वर्षात्का कारण अवरुद्ध जुफाल विमानस्थल घाम लागेर हिउँ पग्लेसँगै तीन दिनपछि शुक्रबार खुलेको हो ।
विमानस्थल खुलेसँगै नेपालगञ्ज विमानस्थलदेखि तारा र समिट एयरलाइन्सले तीन वटा उडान गरेको छ । हिमपातले अवरुद्ध भएको विमानस्थल नखुलेका कारण नेपालगञ्ज र सुर्खेतदेखि कुनै पनि हवाई उडान नभएपछि यात्रुलाई सास्ती भएको थियो ।
हवाई मैदानमा जमेको बाक्लो हिउँ बिहीबार साँझ पग्लेसँगै अवरुद्ध भएको हवाई सेवा शरक्रबारबाट सञ्चालन भएको नागरिक उड्डयन प्राधिकरण जुफालका प्रमुख बालकुमार सिंहले जानकारी दिनुभयो ।