
धनगढी – भारतीय पक्षले ६९ औं गणतन्त्र दिवस शनिवार नेपाल–भारत सीमानाका गौरीफन्टामा मनाएको छ ।
केही दिनयता दशगजा क्षेत्रमै भारतले एकलौटी ढंगले टे«न्च खनेकोप्रति नेपाली पक्षबाट व्यापक विरोध भइरहँदा भारतले सीमामै आफ्नो गणतन्त्र दिवस मनाएको हो ।
२ देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सीमानाका नजिक भारतीय भूमीमा नेपाली पक्षलाई समेत आमन्त्रण गरेर दिवस मनाएको छ ।
कार्यक्रममा नेपाल तथा भारत दुवै पक्षका सहभागीले दुवै देश र जनताबीच मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले छिमेकी देशको कार्यक्रम सीमानाकामा दुवै देशका नागरिकले मनाउन पाउनु भनेको २ देशबीचको सम्बन्ध अझ मजबुत बनाउनमा टेवा पुग्नेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा भारतको पलियाका समाजसेवी रवि गुप्ताले एकअर्का देशका नागरिकले एकै थलोमा गणतन्त्र दिवस मनाउन पाउँदा भाइचाराको सन्देश दुवै देशमा फैलिने बताए ।

अर्का समाजसेवी रामचन्द्र गुप्ताले एक अर्काको सुखदुःखमा दुवै पक्षबीच मेलमिलापका साथ बसेको र आउने दिनमा पनि बस्ने सन्देश दुवै देशमा जान जरुरी रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा भारतीय पक्षबाट सीमा नाकामा बारम्बार नेपालीलाई हुने दुःख सम्बन्धी गुनासोलाई लक्षित गर्दै भारतका एसएसबी ३९ नम्बर बाहिनीका कमाण्डर मुन्ना सिंहले समस्या चाडै नै समाधान गर्ने प्रतिवद्धता जनाए ।