
काठमाडौं– मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान पनि केही समय सबै उडान अवतरण बन्द भयो । जाडो मौसमका दिनमा प्रायजसो बिहानको समयमा भिजिबिलिटी कम हुने विमानस्थलले जनाएको छ ।
अहिले काठमाडौं उपत्यकामा सिमसिम वर्षा भइरहेको छ र भिजिबिलिटी एकदमै कम छ । जाडो सिजनमा हुस्सु लाग्ने हुँदा केही समयका लागि हवाई सेवा प्रभावित हुने गरेको विमानस्थलका प्रवक्ता प्रताप बाबु तिवारीले जानकारी दिए । तर यो नियमित भने छैन उनले भने ।
यस्तो अवस्थामा टाढाबाट आएका विमानहरु नजिकको एयरपोर्टमा डाइभर्ट गर्ने गरिएको छ । एयरपोर्ट क्षेत्रमा पानी पर्न रोकिए पनि भिजिबिलिटी १ सय मिटरमा झरेको छ । तर, उडान अवतरणका लागि १५ सय मिटरसम्म भिजिबिलिटी चाहिने गर्दछ ।
मौसमविदका अनुसार काठमाडौंको आकाश दिउँसोतिर खुल्ने अनुमान छ । मौसमविद् समिर श्रेष्ठले हिजोको सिस्टम बाँकी रहेकाले काठमाडौंमा मौसम बदली भएको जानकारी दिए ।