
काठमाडौं — उत्तरपूर्वी चीनमा शुक्रवार एक शपिङ मलमा भएको बम विस्फोटमा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।
जिलिन प्रान्तको चाङचुनमा प्रहरीले यसलाई आपराधिक घटनाका रूपमा लिँदै अनुसन्धान शुरू गरेको छ ।
शहरको केन्द्रमा रहेको प्रमुख शपिङ मल वान्डा प्लाजाको अन्डरग्राउन्ड पार्किङमा राखिएको एक कारमा लगातार विस्फोट भएको खबर चाङचुन फायर डिपार्टमेन्टले पाएको थियो । दिउँसो तीन बजे यो विस्फोट भएको प्रहरीको वक्तव्यमा जनाइएको छ ।
त्यसको तीन मिनेटपछि त्यही भवनको ३०औं तल्लामा विस्फोट भएको थियो । एउटा कार्यालयमा विस्फोट भएको हो ।
होङ्ची सडकमा रहेको एक रेस्टुराँमा खाना खाइरहेका एक प्रत्यक्षदर्शीले बेइजिङ डेलीलाई बताएअनुसार, विस्फोटलगत्तै मानिसहरूलाई भवनबाट बाहिर निस्कन भनिएको छ र अग्निनियन्त्रकहरूले अनुसन्धानका लागि उक्त क्षेत्र खाली गराए ।
‘बीसभन्दा बढी विस्फोट भएको हुनुपर्छ । शपिङ मलले सार्वजनिक घोषणा गरेर मानिसहरूलाई तत्कालै भवन छोड्न भनेपछि हामी बाँच्नका लागि दौडियौं,’ झाङ थर भएकी महिलाले बताइन् ।
भवनबाट भाग्दा झिल्का आएको उनले बताए ।
घटनाको विस्तृत विवरण प्राप्त भएको छैन । शहरको सरकारी प्रवक्ताले दुईवटा विस्फोट भएको उल्लेख गरेपनि त्यहाँ खिचिएका केही भिडियोमा अनेकौं विस्फोट भएको देखाएका छन् ।
शृंखलाबद्ध विस्फोट आपराधिक घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले बतायो तर घटनाको थप जानकारी दिएन ।
एजेन्सी