०९ असार २०८३, मंगलबार

थारु उत्थान समाज सुनसरीद्वारा टीकापुर घटनाका कैदीबन्दीलाई आर्थिक सहयोग

माघ १३, २०७५
थारु उत्थान समाज सुनसरीद्वारा टीकापुर घटनाका कैदीबन्दीलाई आर्थिक सहयोग

धनगढी – थारु उत्थान समाज सुनसरीले टीकापुर घटनाको अभियोगमा पुर्पक्षका लागि कारागारमा रहेका व्यक्तिलाई आर्थिक सहयोग गरेको छ ।

कैदीबन्दी आश्रित बालबालिकाको पठनपाठनमा केही सहयोग पुगोस् भन्ने उद्देश्यका एक कार्यक्रमबीच आइतवार धनगढीमा ३० हजार रुपैयाँ सहयोग गरेको हो ।

समाजकी अध्यक्ष सीता चौधरी नेतृत्वको टोलीले थारु कल्याणकारिणी सभा (थाकस) कैलालीका कार्यवाहक सभापति माधव चौधरीमार्फत् रकम कैदीबन्दी परिवारलाई हस्तान्तरण गरेको छ ।

समाजकी अध्यक्ष सीता चौधरीले पूर्वदेखि पश्चिमसम्मका थारु समुदायको भावनात्मक एकता रहेको बताइन् । सो भावनालाई अझ प्रगाढ बनाएर हकअधिकार स्थापनाको लागि थोरै भएपनि सहयोग संकलन गरेको जानकारी दिइन् । सो रकम सम्बन्धित बालबालिकालाई पुर्याई दिन समेत उनले थाकस कैलालीलाई आग्रह गरिन् ।

यसैबीच थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका संयोजक कृष्णकुमार चौधरीले आफूहरूले हकअधिकार स्थापनाको लागि शान्तिपूर्ण आन्दोलन गरेको बताए । तर राज्य पहिचानवादी पक्षधरलाई अधिकार नदिने रणनीतिमा लागेर राज्यकै डिजाइनबाट घटना घटाएको आरोप लगाए । अधिकार प्राप्तिको आन्दोलन जारी रहेको समेत उनको भनाई थियो ।

नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष भानुराम थारुले सांसद रेशम चौधरीलाई अदालतले दोषी प्रमाणित गरी नसकेकाले शपथ मात्रै होइन, रिहाइ समेत गर्नुपर्ने माग गरे ।

salt training

कमेन्ट गर्नुहोस्