
काठमाडौं -बाराको कलैयाबाट निजगढतर्फ जाने क्रममा शनिवार साँझ बा१झ १६३३ नम्बरको गाडी ट्याक्टरसँग ठोक्किँदा सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको मृत्यु भयो ।
एसपी पोखरेलसँगै सोही गाडीमा सवार बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई घाइते भए । हाल उनी काठमाडौंमा उपचाररत छन् ।
सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति पोखरेलको मृत्युपछि सामाजिक सञ्जाल फेसबूकमार्फत् धेरैले उनलाई श्रद्धाञ्जली दिइरहेका छन् । श्रद्धाञ्जलीसँगै उनले करीब ५ महिना अगाडि फेसबूकमै राखेको स्टाटस पनि भाइरल भइरहेको छ, जसमा उनले लेखेका छन्- 'अब के चाहियो भनेर चित्रगुप्तले सोधेछन् भने भन्ने मन छ, हजुर! अब स्वर्गको बास चाहियो ।'
गत सेप्टेम्बर ४ तारिखका दिन उनले फेसबूकमा राखेको उक्त स्टाटस फ्रेन्ड लिस्टमा रहेकाहरूले मात्र हेर्न सक्छन् ।
