
काठमाडौं – चीन सरकारले अनुदानमा बनाइदिएको कोटेश्वर-कलंकी सडकखण्ड नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
सोमवार बिहान विशेष कार्यक्रमका बीच चीनले उक्त सडकखण्ड नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
कोटेश्वरबाट कलंकीसम्मको करीब १० किलोमिटर सडकखण्ड चीनले गत डिसेम्बरमा निर्माण सम्पन्न गरेको थियो ।
समेवार ललितपुरको गोदावरीमा एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चीनले उक्त सडकखण्ड हस्तान्तरण गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीनको सहयोगमा धेरै आयोजनाहरू निर्माण भएका र छिमेकीको सहयोग सधैं आवश्यक रहने बताए ।
यसअघि समेत चीनको सहयोगमा धेरै आयोजना बनेका र भविष्यमा पनि सहयोग आवश्यक हुने उनको भनाई थियो ।
वर्तमान सरकारले समृद्ध नेपालको परिकल्पना गरेको भन्दै उनले समृद्धिका लागि छिमेकी मुलुकको सहयोग सधैँ आवश्यक हुने बताए ।
‘अहिले हामीले आर्थिक समृद्धिको परिकल्पना गरेका छौं,’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘यसका लागि हाम्रा छिमेकीहरूको सहयोग सधैँ आवश्यक हुनेछ ।’
यअसघि २०७३ सालमै उक्त सडक सम्पन्न हुनेगरी सम्झौता भएको थियो । २०७२ सालमा गएको भूकम्प र भारतले लगाएको नाकाबन्दीका कारण उक्त सडकखण्ड निर्माणको काममा ढिलाई भएको सडक विभागले जानकारी दिएको छ ।
चीनले अनुदानमा उक्त खण्ड स्तरोन्नति गर्ने गरी २०६९ सालमा सम्झौता भएको थियो ।