काठमाडौँ, २७ फागुन - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत पाँचौ चरणको एक दिवसीय खेलमा नेपाल र केन्या भोलि आमने सामने हुदैँछन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलि विहान नेपालले विजय लक्ष्यका साथ केन्याको सामना गर्नेछ । नेपाल र केन्याको लागि यो खेल निकै महत्वपूर्ण मानिएको छ । दुवै टोली शीर्ष चारमा रहनको लागि पनि कडा प्रतिस्पर्धा गर्नेछन् ।
शिर्ष चारमा पर्न सके सन् २०१८ मा बंगलादेशमा हुने आइसिसी वान डे विश्वकप छनोटमा छनोट हुने मौका पाउनेछन् ।त्यसैले पनि उक्त खेल निकै प्रतिस्पर्धात्मक बन्नेछ ।
उक्त खेलमा नेपालले दुवै खेल जितेमा १० अङ्क जोड्दै पाँचौं स्थानमा उक्लनेछ । जसले शीर्ष चारको सम्भावनालाई कायम राख्नेछ । यदि दुवै खेल हारेको खण्डमा नेपालको शीर्ष चारमा रहर्ने सम्भावना पनि लगभग समाप्त हुनेछ ।
त्यसैले पनि शीर्ष चारभित्र आफनो स्थान सुरक्षित गर्न नेपाललाई जित्नैपर्ने दबाब छ । जारी प्रतियोगितामा आठ खेल खेलेको नेपाल ६ अङ्क जोड्दै आठ टोली सम्मिलित च्याम्पियनसिपको छैटौं स्थानमै छ ।
त्यस्तै समान आठै खेल नै खेलेको केन्या चार खेलमा जित हासिल गर्दै आठ अङ्कका साथ अङ्क तालिकामा नेपालभन्दा एक स्थान अगाडि छ ।
केन्यापछि नेपालले हङकङ र युएईसँग खेल्नेछ भने केन्याले नेपालसँगको खेल पछि नेदरल्याण्ड्स र स्कटल्याण्डसँग खेल्नेछ ।
उक्त खेलका लागि नेपालले दुई महिनादेखि तयारी गरिरहेको छ । केही दिनअघि मात्र नेपाल एक साताको भारत भ्रमण गरेर फर्किएको थियो । त्यहाँ नेपालले विभिन्न टोलीसँग अभ्यास खेल खेलेको थियो ।