काठमाडौं- फागुनको १७ गतेबाट प्रदर्शनमा आउने अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’को ट्रेलर रिलिज गरिएको छ ।
शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको ट्रेलर रिलिज गरिएको हो । सार्वजनिक ट्रेलरमा फुटबलमा देशका लागि गोल्ड मेडल जित्ने अठोट बोकेको एक युवकको खेलप्रतिको प्रेम र जीवनमा आउने उतारचढावलाई देखाइएको छ ।
चलचित्रमा अनमोल फुटबल खेलाडीको रुपमा प्रस्तुत छन् । दीवाकर भट्टराई निर्देशित चलचित्रको ट्रेलरमा सम्पूर्ण कलाकारहरुलाई स्थान दिईएको छ । दीवाकरले यसअघि चलचित्र ‘ऐश्वर्य’ निर्देशन गरेका थिए ।
भुवन केसीको निर्माण रहेको चलचित्रमा अनमोलले उपासना सिहं ठकुरी तथा प्रियंका एमभी गरि दुई नायिकासँग रोमान्स गरेका छन् । साथमा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, बुद्धि तामाङ्ग, राजाराम पौडेल, सूर्यमाला खनाल, अमित श्रेष्ठ लगायतको अभिनय रहेको छ । ‘क्याप्टेन’मा निर्देशक दीवाकरकै कथा रहेको छ भने सामिप्यराज तिमल्सिनाको पटकथा छ ।
जीया केसी कार्यकारी निर्माता रहेको चलचित्रमा सुदिप बरालको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, दिर्घराज खड्काको सम्पादन तथा अर्जुन पोखरेलको संगीत छ ।
शुक्रबार दिउँसो सार्वजनिक ट्रेलरलाई दर्शकले औधी रुचाएका छन् । शुक्रबार साँझसम्म ट्रेलरले २ लाख २५ हजार भन्दा बढी भ्यूज पाएको छ ।
यस्तो छ ट्रेलर :