काठमाडौँ, २८ फागुन - नेपाली सभ्यता, संस्कृति र चिनारीसँग जोडिएको बाग्मती सफाइ महाअभियानमा हजारौँ व्यक्ति बाग्मती किनारमा जुट्ने भएका छन्, आजको गोरखापत्रमा खबर छ |
तीन वर्षअघि ढल र फोहोरले छोपिएको बाग्मती सफा गर्ने क्रममा शनिबार दुई सय साता पूरा हुँदैछ । जनस्तरबाट सञ्चालित बाग्मती सफाइको महाअभियान मुलुकको अहिलेसम्मकै सबभन्दा ठूलो अभियान रहेको दाबी गरिएको छ । बाग्मती सफाइमात्र होइन, यो अभियानले देशभर सफाइप्रति व्यापक चेतना विस्तार पनि भएको छ ।
बाग्मती सभ्यताको पुनर्जागरणका लागि समेत सञ्चालित बाग्मती सफाइ महाअभियानले २००आँैं सप्ताह संस्करणमा विशेष कार्यक्रम आयोजनासमेत गरेको छ । महाअभियानमा सहभागी हुन सम्पूर्ण नागरिकलाई गरिएको आह्वानले व्यापक चासो पनि जुटाएको छ ।
तीन वर्षअघि २०७० जेठ ५ गते नागरिक अभियान्ताको पहलमा साप्ताहिक रूपमा बाग्मतीको सफाइ सुरु भएको थियो । बाग्मती सफाइ अभियानका शुभारम्भकर्ता एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले बाग्मती हाम्रो सभ्यता र संस्कृति हो, यसलाई फोहोर गर्नुहुँदैन भन्ने चेतनाको विकास आमनागरिकमा हुनु नै यस अभियानको सबभन्दा ठूलो उपलब्धि रहेको बताए ।
राजधानीबासीको करिब ४० वर्षदेखिको आनिबानीमा यस अभियानले ठूलो सुधार ल्याएको दाबीसमेत उनले गरे । नदी किनारका अतिक्रमित जग्गा खाली गर्न र जथाभावी फोहोर फ्याँक्नेलाई कानुनको कठघरामा उभ्याउन यो अभियानले सम्बन्धित निकायलाई घचघच्याउने काम गरेको बताउँदै यसै अभियानको अनुकरण र प्रभावले अन्य २५ जिल्लामा समेत नदी सफाइ अभियान सञ्चालन भइरहेको जानकारी उनले दिए ।