
काठमाडौं– महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु १ ख ९९८५ नम्बरको यात्रुबाहक बस जाँचका क्रममा ललितपुरका शिशिर कर्माचार्य र शरदराज भण्डारीलाई आज बिहान पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले झोलामा लुकाएको लागुऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग डाइजेपाम, फेनार्गन र नुर्फिन गरी १६१ एम्पुल बरामद गरेको छ ।
पक्राउ परेकालाई अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको छ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले लागुऔषधसहित दुईलाई पक्राउ गरेको छ । लागुऔषध लिएर हिँडिरहेका पर्साका धनञ्जयकुमार कर्णकार र ज्ञानी थापामगरलाई पक्राउ परेका हुन् । पक्राउ परेकासँग डाइजेपाम, फेनार्गन र नुर्फिन गरी ५५६ एम्पुल बरामद गरेको वृत्तले जनाएको छ ।
उता जिल्ला प्रहरी कार्यालय तनहुँले दुई फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट साविक गेडहीगुढी गाविस घर भई हाल तनहुँको व्यास नगरपालिका–४ बस्ने २३ वर्षीय बाबुलाल धोती भन्ने बाबुलाल शाह र व्यास नगरपालिका–१२ बस्ने विनोद पन्थ रहेका छन् ।
शाहलाई ज्यान मार्ने उद्योगअन्तर्गत र पन्थलाई बहुविवाह मुद्दाअन्तर्गत पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।
विसं २०७४ भदौ २० गते राति दमौलीस्थित ड्राइभ इन होटलमा वीरेन्द्र गुरुङलाई खुकुरी प्रहार गरेको घटनामा संलग्न रही बाबुलाल फरार रहेका थिए । विनोदलाई भने तनहुँ जिल्ला अदालतले २०६३ सालमा बहुविवाह मुद्दामा एक वर्षको कैद फैसला गरेको थियो । पक्राउ परेकालाई जिल्ला अदालत पेश गरिएको छ ।