काठमाडौं, २८ फागुन- सरकारले कञ्चनपुर घटनाबारे विभिन्न तहमा भारत सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालमार्फत घटनाबारे ध्यानाकर्षण गराएका छन् । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले शुक्रबारै भारतीय समकक्षी सुष्मा स्वराजलाई टेलिफोन गरेर दोषीमाथि कारबाहीको माग गरेका छन् ।
परराष्ट्र मन्त्रालयले शुक्रबारै भारतीय कार्यबाहक राजदूतलाई लिखित कूटनीतिक नोट हस्तान्तरण गरेको छ। सबै तहको कुराकानीमा भारतीय अधिकारीले मृतकको पोस्टमार्टम रिपोर्ट मागेका छन्। सरकारले संसद्मा घटनाबारे जानकारी दिएको छ भने मृतकलाई सहिद घोषणा गर्दै परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।