
सुर्खेत– दैलेखको आठबीस नगरपालिका वडा नं. ६ मा रहेको गणेश माध्यमिक विद्यालयको दुई कोठे दुई भवन भत्किएका छन् । केहि दिनअघि परेको पानीले चार कोठाहरु भत्किँदा विद्यार्थीहरुलाई अध्यापन गराउन समस्या भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालुप्रसाद आचार्यले विद्यालयको भवन भत्किँदा पठन पाठनमा समस्या भएको बताए । ‘विद्यालय भवन बनाइदिन हामीले स्थानीय, प्रदेश तथा केन्द्रलाई आग्रह गरेका थियौं ।’ उनले भने, तर हाम्रो मागको कतैबाट सुनुवाई भएन ।
उनले २०३२ सालमा माध्यमिक विद्यालयको रुपमा अध्यापन गराउँदै आएको विद्यालयमा अहिले चार समय भन्दा बढी विद्यार्थीहरु अध्ययन गरिरहेको जानकारी दिए । भवन नहुँदा सोलार सिष्टम जोडन नसकिएको उनको भनाई छ । ‘केहि महिनाअघि ल्याइएको सोलार सिष्टम जोडन सकेका छैनौं ।’ अध्यक्ष आचार्यले भने, धेरै हावा लाग्ने भएका कारण कच्चि भवनको छतमा सोलार जोडन पनि सकेनौं । उनले भने, अन्यत्र सोलार जोडने स्थान पनि छैन । सोलार जोडनका लागि भएपनि एक पक्की भवनको आवश्यकता छ ।
उनले कम्तिमा पनि तीन कोठे भवनको आवश्यकता परेको बताए । हामीलाई सोलार सिष्टम जोडन र कक्षा सञ्चालन गर्न तीन ओटा कोठा आवश्यक परेको छ । उनले भने, कतैबाट कम्तिमा दश लाख रुपैंया उपलब्ध भएको खण्डमा हामी जनश्रमदानबाटै भएपनि विद्यालय भवन निर्माण गर्ने थियौं ।
उनले आफूहरुले नै जिताएका जनप्रतिनिधिले विद्यार्थी समस्यामा परेको बेला सहयोग नगरेको आरोप लगाए । अन्यत्र हरेक विद्यालयमा बजेट गएको छ । उनले भने, तर हाम्रो विद्यालयमा भौतिक संरचना निर्माणका लागि कतैबाट पनि बजेट आएन । बारम्बार जनप्रतिनिधिलाई भवन निर्माणका लागि बजेट व्यवस्था गरिदिन आग्रह गरेतापनि सुनुवाई भएन । तर प्रदेश सरकारसँग आश गरिरहेका छौं ।