०७ असार २०८३, आइतबार

ओलीको भनाइ खण्डन गर्दै प्रचण्डले भने– 'भेनेजुएला प्रकरणमा जारी विज्ञप्तिप्रति अडिग छु'

ओलीको भनाइ खण्डन गर्दै प्रचण्डले भने– 'भेनेजुएला प्रकरणमा जारी विज्ञप्तिप्रति अडिग छु'
फाइल फोटो

चितवन – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुएला प्रकरणमा जारी गरेको विज्ञप्तिमा आफू अडिग रहेको बताएका छन् । 

पार्टी सचिवालयले समेत विज्ञप्तिको स्प्रिट अनुसार वक्तव्य जारी गरेको भन्दै उनले व्यक्तिको भनाइको अर्थ नहुने टिप्पणी गरे । 

बिहीवार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले बोली चिप्लिएको या अरू कसैले फसाएको भन्ने कुराको खण्डन गरेका हुन् । 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित अमेरिकी राजदूतसँगको भेटमा प्रचण्डको शब्द चिप्लिएको बताएको समचार सार्वजनिक भएको थियो ।

‘हिजो प्रधानमन्त्रीले कुन सन्दर्भमा कसरी भन्नुभयो आफैंले पत्रिका हेरको छैन, प्रमले त्यसो भन्नुभयो जस्तो लाग्दैन,’ प्रचण्डले भने । 

भेनेजुएला प्रकरणमा आफ्नो वक्तव्य राजनीतिक भएको र स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न राष्ट्रमा बाहिर कसैबाट हस्तक्षेप नहोस् भन्ने आसय रहेको बताए ।

‘पछि परराष्ट्रबाट जारी वक्तव्य त्यही स्पिरिटमा थियो । प्रधानमन्त्री समेत उपस्थित सचिवालयको बैठकले हस्तक्षेपको विरोधमा वक्तव्य जारी गरिसकेकाले व्यक्तिको भनाइले केही अर्थ राख्दैन,’ प्रचण्डले भने । 

प्रचण्डले वक्तव्यप्रति आफू अडिग रहेको प्रस्ट पारेका छन् । ‘पार्टी र परराष्ट्र मन्त्रालयबाट आएको विज्ञप्तिप्रति अडिग छु, मलाई फसाएर आएको भनिएपछि सचिवालयको तर्फबाट खण्डन भइसकेको छ, पार्टीको तर्फबाट जे वक्तव्य आयो, त्यही नै सही हो ।’

प्रचण्डले नेपालको शान्ति प्रक्रियाका मामिलामा पश्चिमा राष्ट्रहरूको संयुक्त वक्तव्य नेपाल मामिलामा हस्तक्षेपको रूपमा लिएको बताए । 

कमेन्ट गर्नुहोस्