
सुर्खेत– कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन फागुन १५ गते दिउसो एक बजे बस्ने भएको छ । कर्णाली प्रदेश सरकारको बुधबार बसेको बैठकले कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन २०७५ फागुन १५ गते अपरान्ह १ बजे आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेपछि हिउँदे अधिवेशन बस्ने पक्का भएको हो ।
सरकारका प्रवक्ता एवम भूमिव्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीका अनुसार कात्तिक १८ गते समापन भएको बजेट अधिवेशन अब फागुन पन्ध्र गते हिउँदे अधिवेशनका रुपमा बस्ने भएको हो । बैठकले भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रस्ताव गरेकोे प्राङ्गारीक कृषि विधेयक २०७५ प्रदेशसभा समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने, भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रस्ताव गरेको खाद्य उत्पादन, संरक्षण तथा खाद्य अधिकारको प्रवर्धन गर्न बनेको विधेयक २०७५ लाई मन्त्रिपरिषद्को विधेयक समितिमा पठाउने निर्णय गरेको छ ।
भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सरकारी भवन निर्माण गर्न जग्गा प्राप्तिका लागि गरेको प्रस्ताव संघीय सरकारसमक्ष पठाउने, सामाजिक विकास मन्त्रालयले प्रस्ताव गरेको श्रम तथा रोेजगार प्रवर्धन नीति २०७५ स्वीकृत गर्नेे तथा सामाजिक विकास मन्त्रालयले प्रस्ताव गरेको कर्णाली प्रदेशमा खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री केसीको भनाई छ ।
यस्तै मन्त्रिपरिषद्को वैठकले सामाजिक विकास मन्त्रालयले प्रस्ताव गरेको घरेलु हिंसा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने, आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रस्ताव गरेको सुशासनसम्वन्धी विधेयक २०७५ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने, आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रस्ताव गरेको सार्वजनिक प्रसारणसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
वैठकले भौतिक पूर्वाधार मन्त्रालयले प्रस्ताव गरेको पूर्वाधार विकास प्राधिकरण गठन गर्ने सम्बन्धमा वनेको विधेयक २०७५ मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने र प्रदेश समन्वय परिषद्को पहिलो ऐतिहासिक बैठकलाई सफल पार्न सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको मन्त्री केसीले जानकारी दिइन् ।